दार्जीलिङ्ग: कृषक बन्धु योजना अन्तर्गत कृषकहरुको मृत्यु पर्यन्त परिवारलाई आर्थिक सहयोगको रूपमा दुई लाख रुपियाँ दिइयो। आज एक कार्यक्रम माझ जीटीए क्षेत्रका ११ जना परिवारलाई राज्य सरकारको तर्फबाट धनराशि वितरण गरियो।
योजना विषय जानकारी गराउँदै कृषि विभागका सभासद सतिश पोख्रेलले भने, “बंगाल सरकारको कृषक बन्धु योजना अन्तर्गत जीटीएले चौथो पल्ट कृषकहरुलाई धनराशि वितरण गरेको छ। आज दार्जीलिङ्ग महकुमाका ११ जनालाई चेक प्रदान गरियो भने अन्य ४ जनालाई मुख्यमन्त्रीको बाहुलीबाट प्रदान गरिनेछ। यो वर्ष मात्र करिब दार्जीलिङ्ग जिल्लाको ५ वटा ब्लकमा ८० जना कृषक परिवारले यो सुविधा पाएका छन्।”
कृषक बन्धु राज्य सरकारको कृषकहरुलाई सहयोग दिने योजना हो। कुनै पनि कृषकले यदि उसकोमा पञ्जिकृत कृषि योग्य जमीन छ भने पहिला उसले कृषि विभागको कार्यालयमा गएर पहिचान पत्र सहित जमीनलाई कृषक बन्धु पोर्टलमा दर्ता गराउनु पर्छ। यदि कृषकले लोन चाहन्छ भने, कृषि बन्धु योजना मार्फत लोन पाउनु सक्छ।
कृषि बन्धु संग जडित कुनै कृषकको मृत्यु हुन्छ भने, मृत कृषकको नाममा कृषि बन्धु योजना अन्तर्गत परिवारलाई सहयोग राशि दिइन्छ।










