गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले आज ट्राइबल को-अपरेटिव मार्केटिङ डेभलपमेण्ट फेडरेशन अफ् इंडिया लिमिटेडको आदि महोत्सवको उद्घाटन गरे। यो महोत्सव मेजर ध्यानचन्द स्टेडियममा आयोजन भइरहेको छ।
उद्घाटनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको तर्फबाट राखिएको स्टलको अवलोकन गरे। १७ राज्य अनि केन्द्रशासित प्रदेशहरूका मोठ ३९ वन धन विकास केन्द्रहरूमध्ये सिक्किमको प्रतिनिधित्व मंगन जिल्लाका नोडल अधिकारी सरकारी विभागका पुनोल सिपमो लेप्चा, फेनलोङ वन धन विकास केन्द्रका प्रतिनिधि टाशी डोमा भोटिया अनि वन धन विकास केन्द्र माङशिलाका प्रतिनिधि सुश्री रुपा लिम्बूले गरेका छन्।
स्टलमा राखिएका उत्पादहरू प्रधान मन्त्री वन धन योजनाअन्तर्गत उत्पादन गरिएको हो। यो योजनाले वन उत्पादनलाई प्रवर्द्धन गर्ने र वन धन विकास केन्द्रहरूद्वारा ब्राण्डिङका साथ बजारीकरण गर्ने परिकल्पना गरेको छ।
वर्ष २०२३ लाई अन्तरराष्ट्रिय मिलेट इयरको रूपमा मनाइँदैछ। सामान्य आकर्षणहरूसँगै, पेनलोङ वन धन विकास केन्द्रले आफ्नो पहिलो मिलेट सोप र मुगवर्ट सोप, मुगवर्ट हर्बल चिया, नेटल चिया, फल चिया, ठूलो अलैंची, अलैंची फाइबर म्याट जस्ता अन्य उत्पादनहरू प्रस्तुत गरेको छ। सिक्किम राज्यमा यो योजनाको नोडल एजेन्सी विज्ञान एवं प्रविधि विभाग हो अनि कार्यान्वयन एजेन्सी सहकारिता विभाग रहेको छ।
जानकारी गराइन्छ, आदि महोत्सव ट्राइबल को-ओपरेटिव मार्केटिङ डेभलपमेण्ट फेडरेशन अफ् इण्डिया लिमिटेडको ध्वजवाहक कार्यक्रम हो। यसवर्ष यो १६ फरवरीदेखि २७ फरवरीसम्म आयोजन हुनेछ। राष्ट्रिय मञ्चमा आदिवासी संस्कृतिलाई प्रदर्शित गर्ने यो महोत्सव प्रयास हो। महोत्सवमा २०० भन्दा अधिक स्टलहरूमा आदिवासी हस्तशिल्प, हथकर्धा, पेण्टिङ, आभूषण, उखु र बाँस, माटोको वर्तन, भोजन, प्राकृतिक उत्पाद अनि अन्य कलाकृतिहरूसँगै जनजातीय व्यञ्जनहरूको प्रदर्शनी एवं बिक्रीको सुविधा रहेको छ।