तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा स्टेडियम बनिने

IMG-20230216-WA0197.jpg

आज विभागीय सर्वेको कार्य सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनिने भएको छ। स्टेडियम बनाउनलाई तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको पहलमा विभागीय रूपमा सर्वे गरिएको छ। मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउनलाई आज सिञ्चाई अनि जल विभागको अधिकारीहरूले सर्वे गरेका छन्। उक्त सर्वे गर्ने टोलीमा सिञ्चाई अनि जल विभागको सहायक अभियन्ता साथै एसएई अभिनास छेत्री अनि क्षेत्रीय सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। उक्त टोलीमा युवा शक्तिको कन्भेनर साजन दर्जी लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। स्थानीय जनताले लामो समयदेखि स्टेडियम बनिने सपना अहिले आएर पूरा हुने भएको छ। यसरी मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउने पहल शुरु भएकोले स्थानीयहरूले खुशी व्यक्त गरेका छन्। तीनधारे क्षेत्रको लागि एक मात्र खेल मैदानलाई स्टेडियम बनाउने जनताले मांग गर्दै आएका थिए भने अहिले आएर तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको पहल र जीटीए चिफ् अनित थापाको सहयोगमा पूरा हुने भएको छ। खेल मैदानलाई स्टेडियम बनाउनलाई आज विभागीय रूपमा सर्वे गर्दै नापजोख पनि गरिएको छ। यसरी खेल मैदानलाई स्टेडियम बनाउन सर्वे भएपछि स्थानीयहरूका पक्षमा जोहन पोर्तेलले कुराकानी गर्दै अहिले खेल मैदानको अवस्था खराब छ र यस खेल मैदानलाई मरमत्ति गरेर स्टेडियम बनाउन आवश्यक थियो भनी बताएका छन्। उनले भने, “हाम्रो सभासद अहिले पूर्व फुटबल खेलाड़ी भएकोले यस कार्यको लागि हामीले आशा राखेका छौं अनि यसको लागि हामीले जीटीए चिफ् अनित थापाबाट पनि आशा राखेका छौं। तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियममा परिणत गरिए तीनधारेको जनता खुशी हुनेछ।”

त्यसरी स्थानीय सांङ्गे लामाले भने, “यस खेल मैदानमा अहिले पनि फुटबल र क्रिकेट लगायत अन्य कार्यक्रमहरू पनि भईरहेका छन्। पहिला पनि ठूल्ठूला खेलहरू र कार्यक्रमहरू हुने गरेको साथै यहाँ छिरिङ मेमोरियल गोल्ड कप फुटबल टुर्नामेन्ट पनि हुने गर्दथ्यो। तर खेल मैदानको अवस्था अहिले एकदमै दयनीय अवस्थामा पुगेको छ। त्यसैले यस खेल मैदानलाई सानो भए पनि स्टेडियम बनिने असल हुने र यस क्षेत्रको जनता खुशी हुनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement