प्रेम दिवसमा शब्द समय सालबारीको अक्षरप्रेम

00-1-IMG-20230215-WA0273

सालबारी: मङ्गलबार  १४ फरवरीको दिन शब्द समय सालबारीको आयोजनामा स्थानीय गोम्देन टीबारको सविता गोम्देन साहित्य कक्षमा एक शालीन कार्यक्रमबिच रमाइलो साहित्यिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई शब्द समयका अभिभावक व्यक्तित्व विशिष्ट साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए। प्रमुख अतिथिको रूपमा उपस्थित थिए प्रसिद्ध गीतकार-कवि मदन ओझा। कवि-गजलगो एवं ओन लाइन पत्रिका दार्जीलिङ टक्सका सम्पादक शैलेन्द्र समदर्शीद्वारा कार्यक्रमलाई सञ्चालन गरिएको थियो। प्रथममा सञ्चालक समदर्शीले कार्यक्रम आयोजनाको उद्देश्य बताए अनि उपस्थित सबैलाई स्वागत जनाए। उनले भने विशिष्ट साहित्यकार नरबहादुर दाहालले यो कार्यक्रम गर्ने सोच बनाउनुभएपछि वरिष्ट कवि-चिन्तक-अध्येता ज्ञानेन्द्र खतिवड़ाले पहल गरे अनि यो कार्यक्रम यसरी आयोजना भयो। कार्यक्रम अध्यक्ष साहित्यकार नरबहादुर दाहालले यस अवसरमा बोल्दै भने, साहित्यमा मेरो चिनारी प्रेम कविको रूपमा भएको हो। मेरा दुई कविता सङ्ग्रहहरू ‘उन्माद’ अनि ‘तिम्रो प्रीत नै मेरो गीत’ प्रेम कविताहरूकै सङ्ग्रहहरू हुन्। मलाई  मन परेका कवि हुन् ध्रुव। उनी ध्रुव दवाड़ी हुन् तर उनले आफूलाई साहित्यमा ध्रुव मात्र लेख्थे। साहित्यकार दाहालले ध्रुवको कवितासङ्ग्रह ‘ज्वाला’-बाट कविता ‘आज यसैले नुनिलो धारा’ पठन गरेर सुनाए भने ‘अब तिमीले मलाई यसरी याद गर्नू’ शीर्षकमा आफ्नो स्वरचित कविता अनि ‘प्रेमको नयाँ फर्मूला’ शीर्षकमा रोचक कथा पढ़ेर कार्यक्रमको माहौललाई खुबै जीवन्त र विनोदमय बनाए। कवि दाहालबारे बताउँदै सञ्चालक शैलेन्द्रले भने, आयामको हुरीले हल्लाउन नसकेका कवि हुन् दाहाल महोदय। त्यसपछि प्रख्यात अभिनेता टङ्क शर्माले प्रेम प्रसङ्गका केही कुराहरू बताए। यस क्रममा उनले एक प्रश्नको उत्तरमा साहित्यकार ज्ञवालीले दिएका उत्तरको रोचक प्रसङ्ग बताउँदै भने ‘प्रेम मृत्यु पर्यन्त रहन्छ’। अभिनेता टङ्क शर्माले भने मलाई लाग्छ प्रेमको परिभाषा यही हो। उनले भने पचासको दशकको अन्त्यदेखि साठीको दशकसम्म त म पनि कवि नै थिएँ। त्यस समय आफूले लखेका कविताहरू पनि उनले वाचन गरेर सुनाए। यस अवसरमा वरिष्ठ कवि मोहन ठकुरीले ‘एकान्तमा’ शीर्षकको स्वरिचत कवितासित प्रेम-कविता नै बताउँदै आफ्नो मास्टरपीस कविता ‘नि:शब्द’ पठन गरेर सुनाए। सर्जक मणिकुमार प्रधानले एक लघु कथासित एक प्रेमिल कविता पठन गरे। यस अवसरमा युग्मककार कालूसिंह रनपहेंलीले प्रेममाथि लेखिएका केही युग्मकहरूसित ‘प्रेममय पृथिवी’ शीर्षकको कविता पठन गरे। कार्यक्रमको एक थप आकर्षणको रूपमा थियो कवि राजेन्द्र पासाको टुक्का सङ्ग्रह ‘तरङ्गित छालहरू’-को लोकार्पण। यस क्रममा सर्जक राजेन्द्र पासाको परिचय सञ्चालक समदर्शीले राखे। त्यसपछि सभाध्यक्ष, प्रमुख अतिथि अनि उपस्थित सबै सर्जकहरूका बाहुलीबाट टुक्का सङ्ग्रह ‘तरङ्गित छालहरू’ लोकार्पण गरियो। कृति लोकार्पणको घोषणा कार्यक्रम अध्यक्ष साहित्यकार दाहालले गरे। यस अवसरमा बाल्दै कृतिकार राजेन्द्र पासाले टुक्का कविताको परिचय प्रस्तुत गर्दै भने, यो टुक्का लेखनको परिकल्पना काठमाडौंका साहित्यकार ताराप्रसाद चापागाइँले गरेका थिए। नेपालबाट टुक्काका सङ्ग्रहहरू छापिएका छन् तर भारतबाट किताबी रूपमा प्रकाशित भएको यही पुस्तक पहिलो टुक्का सङ्ग्रह हो। उनले आफ्ना सिर्जनाहरू वाचनका साथै आफूलाई सहयोग, हौसला र प्रेरणा दिनेहरू सबैसबैप्रति आभार प्रकट गरे। यस अवसरमा बोल्दै कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले भने म भेलेन्टाइन डे मनाउनु अपसंस्कृति मान्छु। तर यसलाई हामी किताबलाई प्रेम गर्ने दिवसको रूपमा मनाऔं। किताबलाई प्रेम गर्यौं भने जाति माथि उठ्छ। प्रेम दिवसको निहुँमा हामी राम्रा कुराहरू सुनौं अनि पठन संस्कृतिलाई विकाश गरौं। यस अवसरमा प्रतिष्ठित कवि अजय थापाले नौलो ढङ्गमा लेखिएको कविता ‘मायाको विमोचन’ पढ़ेर सुनाए। कवि ग्रेसी राई थुलुङले खुबै सुन्दर कविता ‘पृथक प्रेम’ शीर्षकमा सुनाएर माहौललाई काव्यमय बनाइन्। कवि अमिता अणुले स्वरचित कविता ‘मौनता’-सित केही मुक्तकहरू वाचन गरेकी थिइन्। कवि दिवाकर शर्माको सुन्दर कविता वाचन पश्चात् कार्यक्रमका मुख्य अतिथि प्रसिद्ध गीतकार मदन ओझाले आफ्नो सम्भाषण राखे। उनले भने शब्द समयमा उपस्थित हुन धेरै समयदेखि चाहेको थिएँ तर आज यो अवसर जुट्यो अनि अति हर्ष अनुभव गरिररहेको छु। उनले कवि राजेन्द्र पासालाई बधाई दिए अनि शब्द समयलाई यसरी आफूलाई कार्यक्रममा उपस्थित हुने सौभाग्य दिएकामा धन्यवाद चढ़ाए। यस अवसरमा उनले आफ्ना दुई स्वरचित कविताहरू ‘मनको घाउ’ अनि ‘सबै ग्रन्थमा ईश्वर कहाँ हुन्छन् र?’ पठन गरेर सुनाए। अन्त्यमा सञ्चालक शैलेन्द्र समदर्शीले कवि सविता गोम्देनको परिचय प्रस्तुत गर्दै गोम्देन टी-बार अनि उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। यस अवसरमा अवकाशप्राप्त चिया उद्योगका अधिकारी अरूण कुमार गोम्देन, वरिष्ठ साहित्यकार डी.एस. बम्जन, कवि हेमन्त काफ्ले, अनन्त गोम्देन, राजकुमार प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement