गान्तोक: रेसिडेन्सियल सर्टीफिकेट (आरसी) होल्डर्सहरूलाई सिक्किम सब्जेक्टधारीले पाउने अधिकारीहरू नदिन सुखिम मूलबासी संरक्षक संगठनले राज्य सरकारसमक्ष आग्रह गरेको छ।आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पेमा थुटेनले यस्तो माग राखेका हुन्। विशेषगरि आरसी होल्डर्सहरूलाई बजारको जमीन पनि किनबेच गर्नबाट वञ्चित राख्नु पर्ने उनले अपील गरेका छन्। पूर्व सरकारको कार्यकालमा आरसी होल्डर्सले सबै कुराको सुविधा प्राप्त गरेको बताउँदै वर्तमान सरकारले पूर्व सरकारले गरेको गल्तीलाई सच्याउन सक्ने उनले आशा व्यक्त गरेका छन्। पूर्व सरकारले पहिला नै यी नियम कानून बनाएको भए स्थानीयहरू सुरक्षित रहन सक्ने उनको भनाइ रहेको छ। तर पूर्व सरकारले भोट ब्याङ्क बृद्धि गर्ने उद्देश्यले आरसी होल्डर्सलाई पनि सिक्किम सब्जेक्टधारी सरह अधिकार प्रदान गरेपछि स्थानीयहरूको हक र अधिकार हनन हुँदै गएको उनले दावी गरे। यस विषयलाई लिएर संगठनले धेरै अघिदेखि सम्बन्धित विभागसमक्ष ज्ञापन चढाउँदै आइरहेको उनले बताए ।वर्ष १९७५ भन्दा अघिदेखि सिक्किममा बसोबासो गर्दै आएकाहरूलाई मात्र आरसी दिनु पर्ने र दिने क्रममा सम्बन्धि अधिकारीहरूले राम्रोसँग छानबीन गर्नुपर्ने उनले अपील गरेका छन्। यसरी नै उनले टेम्पोरेरी ट्रेड लाइसेन्स पनि शीघ्र बन्द गरिनु पर्ने सम्बन्धित अधिकारीसमक्ष आग्रह गरे ।यस अवसरमा हालै संगठनको निम्ति नयाँ महासचिवको पदमा नियुक्ति भएकी सुष्मा तामाङले पनि पत्रकारहरूलाई सम्बोधन गरेकी थिइन्।