कोलकाता: पश्चिम बङ्गाल सरकारले बुधबार विधानसभामा आफ्नो तेस्रो कार्यकालको दोस्रो बजेट पेश गऱ्यो। मुख्यमन्त्री ममता ब्यनर्जीको उपस्थितिमा वित्तमन्त्री चन्द्रिमा भट्टचार्यले ३ लाख ३९ हजार १६२ करोड़ रुपियाँको बजेट पेश गरिन्। यसका साथै उनले सड़कहरूको निर्माणार्थ सड़कश्री योजनाको पनि घोषणा गरिन्, जसको लागि ३ हजार करोड़ रुपियाँ आवन्टन गरिएको छ। वित्तमन्त्रीका अनुसार यसबाट ११ हजार किलोमीटर सड़कहरूको निर्माण हुनेछ। युवाहरूका लागि भिन्नै भविष्य क्रेडिट कार्ड योजना आरम्भ गरिएको छ, जसअन्तर्गत १८ देखि ४५ वर्षसम्मका पुरूषहरूलाई पाँच लाख रुपियाँको ऋण सरकारी क्रेडिट कार्डको माध्यमबाट उपलब्ध गराइनेछ। दुई लाख युवाहरूले यसको लाभ लिनसक्नेछन्।
बितेका तीन दिनदेखिको धरनामा बसेका सरकारी कर्मचारीहरूलाई फकाउनको लागि ठूलो घोषणा गर्दै वित्त मन्त्री भट्टचार्यले बताइन्, सरकारी कर्मचारीहरूको लागि तीन प्रतिशत डीए बढ़ाइनेछ। यसको लाभ पेन्शनभोगी सेवानिवृत्त कर्मचारीहरूले पनि पाउनेछन्। कर्मचारीहरूले यो बढ़ेको भत्ता एक मार्चदेखि पाउनेछन्। बजेट पेश गर्नअघि राज्य विधानसभामै मन्त्रीमण्डलको बैठक सम्पन्न भयो जसमा बजेटलाई लिएर सबैले सहमति कायम गरे। त्यसपछि मुख्यमन्त्री ममता ब्यनर्जीको पटलमा बजेट राखियो भने वित्तमन्त्री चन्द्रिमाले यसलाई पेश गरिन्। उनले विधायक निधिलाई ६० लाखदेखि बढ़ाकर ७० लाख बनाउने घोषणा गरिन्। उनले बताइन्, खाद्य साथी योजनाको लाभ नौ करोड़ मानिसहरूलाई प्राप्त भएको छ। घर अनि जमीन खरिद गर्नेहरूको लागि खुशीको खबर दिँदै वित्तमन्त्रीले भनिन्, आउँदो छः महिनासम्म जमीन र घर खरिदमाथि दुई प्रतिशत स्ट्याम्प ड्यूटी छुट यथावत रहनेछ। सर्कल रेटमा पनि १० प्रतिशतको छुट यथावत रहनेछ। यो छुट पहिलादेखि नै जारी रहेकोले ४४ लाख मानिसहरूले अपेक्षाकृत कम मूल्यमा फ्ल्याट खरिद गरेको उनले बताइन्।
एशियाको दोस्रो सबैभन्दा ठूलो कोइला खानी देवचा पचामीको उल्लेख गर्दै वित्तमन्त्री चन्द्रिमाले दाबी गरिन्, यसमा एक लाख युवाहरूले रोजगार पाउने छन्। यो खनन व्यवसाय शुरू गर्नको लागि ३५ हजार करोड़ रुपियाँ निवेश हुनेछ। सय दिने रोजगार ग्यारण्टी योजनाको फण्ड नपाएकोमा केन्द्र सरकारमाथि प्रहार गर्दै यसबाट गरीब परिवारहरू प्रभावित भइरहेको बताइन्। उनले भनिन्, सामाजिक संरचनालाई मजबुत बनाउनको लागि राज्य सरकारले स्वयं सहायता समूहलाई १३ हजार ६ सय ७ करोड़ रुपियाँ ऋण दिने निर्णय लिएको छ। वित्तीय वर्ष २०२३-२४ मा रोजकोषीय विकास दर ८.४१ प्रतिशत रहने दाबी उनले गरिन्। मुख्यमन्त्री ममता ब्यानर्जीको महत्वाकांक्षी दैलोमा सरकार परियोजनाअन्तर्गत नौ करोड़ मानिसहरूले सरकारी सुविधाहरूको लाभ उठाएका छन्, जसअन्तर्गत सरकारी कर्मचारीहरू ३ लाख ७१ हजार मानिसहरूको घरसम्म पुगेका छन्। उनले दाबी गरिन्, ग्रामीण आवास निर्माण क्षेत्रमा पनि पश्चिम बङ्गाल सारा देशमा शीर्षमा छ। महिलाहरूको लक्ष्मी भण्डार योजनालाई यथावत राख्ने घोषणा गर्दै वित्तमन्त्रीले जुन महिलाहरूले यस योजनाअन्तर्गत वित्तीय लाभ उपभोग गरिरहेका छन् ती महिलाहरूले ६० वर्ष पूरा हुनसाथ स्वतः वृद्धा भत्ता पाउने जानकारी गराइन्।
वित्तमन्त्रीले बजेट पेश गरेपछि मुख्यमन्त्री ममता ब्यनर्जीले आफ्नो सम्बोधन राखिन्। विधानसभा अध्यक्ष विमान ब्यनर्जीले भने, मुख्यमन्त्रीले बजेटको सम्बन्धमा केही भन्न चाहन्छन् भने भन्न सक्नेछन्। त्यसपछि ममताले संक्षिप्तमा आफ्नो कुरा राखिन्। उनले बजेटको प्रशंसा गर्दै भनिन्, यो बजेट रोजगारोन्मुखी छ। यसबाट राज्यको चौतर्फी विकास हुनएछ। तीन प्रतिशत डीए बढ़ाएको उल्लेख गर्दै उनले भनिन्, राजकोषीय अवस्था राम्रो छैन तथापि डीए बढ़ाउने घोषणा गरिएको छ। सीमित आर्थिक क्षमता हुँदाहुँदै पनि सबैको विकास्लाई ध्यानमा राखेर बजेट पेश गरिएको छ। केन्द्र सरकारले पश्चिम बङ्गाललाई वित्तीय सहयोगदेखि वञ्चित राखेको छ। तर पनि राज्य सरकारले ती सबै योजनाहरूलाई यथावत राखेको छ जुन लोक कल्याणसित जोड़िएको छ। वित्त कोष राम्रो नभए पनि सरकारी कर्मचारीहरूले छैटौं वित्तीय आयोग मुताविक सुविधाहरू पाइरहेका छन्। यहाँको सरकारी कर्मचारीहरू दश वर्षमा एकपल्ट बेंकक श्रीलंका, मलेशिया घुम्नको लागि जान सक्नेछन्। पाँच वर्षमा एक पल्ट अन्य स्थानहरूमा पनि जान सक्नेछन्। यस बजेटबाट करोड़ौं बेरोजहरूलाई रोजगार मिल्नेछ। हाम्रो मुख्य लक्ष्य नै रोजगार सृजना गर्नु हो।