१५ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं संस्करणमा ५८ जीटीसी, शिलंगले फाइनलमा स्थान बनायो। बुधवार सुकना हाई स्कूल मैदानमा भएको दोस्रो सेमिफाइनल म्याचमा ५८ जीटीसी, शिलंगले सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई पेनल्टी शूटआउटमा ८-७-ले पराजित गऱ्यो। नियमित नब्बे मिनटको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि पेनल्टी शूटआउट अनि पछिबाट सडन डेथमा गोलकीपर राजन राणाको असाधारण प्रदर्शनको दममा ५८ जीटीसी-ले म्याच जित्यो। ५८ जीटीसी-का गोलकीपर राजन राणालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार (१७ फरवरी) खेलिने फाइनल म्याचमा ५८ जीटीसी, शिलंग र कालेबुङको युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २:०० बजीदेखि शुरु हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आजको म्याचमा पनि नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडको पाइप ब्याण्ड डिस्प्ले मुख्य आकर्षण रह्यो। यसरी नै फाइनलमा कालेबुङको कुमुदिनी होम्सद्वारा ब्याण्ड डिस्प्ले गरिने जानकारी प्राप्त भएको छ।