१५ फरवरीः मध्यक्रमका ब्याटर श्रेयस अय्यर ढाड़को चोटबाट मुक्त भएका छन् अनि उनलाई १७ फरवरीदेखि अष्ट्रेलिया विरुद्ध नयाँ दिल्लीमा खेलिने दोस्रो क्रिकेट टेस्ट म्याचको निम्ति भारतीय टीममा सामेल गरिएको छ। अय्यरले बंग्लादेश विरुद्ध दिसम्बरमा दुईवटा टेस्ट म्याचको सीरीज खेलेका थिए तर ढाड़को तल्लो हिस्सामा रहेको चोटले गर्दा उनले न्यूजील्याण्ड विरुद्ध वनडे सीरीज खेल्न सकेका थिएनन्। उनी अष्ट्रेलिया विरुद्ध नागपुरमा खेलिएको पहिलो टेस्ट म्याचबाट पनि बाहिर रहेका थिए। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले बताएअनुसार, मेडिकल टीमले अय्यरलाई खेल्ने अनुमति दिएको छ अनि उनी चाँड़ै दिल्ली पुगेर टीममा सामेल हुनेछन्। बीसीसीआई सचिव जय शाहले भने, भारतीय ब्याटर श्रेयस अय्यरले ढाड़मा रहेको चोटको निम्ति राष्ट्रिय क्रिकेट एकाडमीमा उपचार पूरा गरेका छन् अनि बीसीसीआईको मेडिकल टीमले उनलाई खेल्ने अनुमति दिएको छ। यसैकारण उनी बोर्डर-गावस्कर ट्रफीको दोस्रो टेस्टमा हिस्सा लिन उपलब्ध छन्। चारवटा टेस्ट म्याचको सीरीजअन्तर्गत नागपुरमा खेलिएको पहिलो टेस्ट म्याचमा भारत ईनिंग्स र १३२ रनले विजयी भएको थियो।