१४ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं संस्करणमा कालेबुङको युनाइटेड ब्रदर्सले फाइनलमा स्थान बनायो। मंगलवार सुकना हाई स्कूल मैदानमा भएको पहिलो सेमिफाइनल म्याचमा युनाइटेड ब्रदर्सले युनाइटेड एफसी दार्जीलिङलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। नियमित नब्बे मिनटको खेलमा दुवै टीमले गोल गर्न सकेन। युनाइटेड ब्रदर्सका विंगर प्रबीण सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लब (केएफसी) र ५८ जीटीसी, शिलंगबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २:४५ बजीदेखि शुरु हुनेछ। फाइनल १७ फरवरीमा खेलिनेछ।