खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनको सातौँ शीतकालीन ब्याडमिन्टन प्रशिक्षण शिविरको समापन समारोह प्रेमेन्द्र गुरुङको अध्यक्षतामा खरसाङको पार्क लोकेसनस्थित एसोसिएसन हलमा सम्पन्न भयो। उक्त प्रशिक्षण शिविर गत १८ दिसम्बर २०२२ देखि शुरु भएको थियो जसमा दार्जिलिङका ख्यातिप्राप्त प्रशिक्षक मनिष छेत्री (बीडब्ल्युएफ लेवल १) ले खरसाङ क्षेत्रका ३० जना नानीहरूलाई प्रशिक्षण दिएका थिए। बी कमल राईद्वारा संचालित उक्त समारोहमा सचिव पियुष राईले स्वागत भाषण राखेका थिए। खरसाङ ब्याडमिन्टन एसोसिएसनको तर्फबाट मनिष छेत्रीलाई सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो भने प्रशिक्षणमा अंश ग्रहण गर्ने बाल-बालिकाहरुलाई प्रमाण पत्र पनि प्रदान गरियो। समारोहमा प्रशिक्षक मनिष छेत्री अनि वरिष्ठ सदस्य ललित शर्माले प्रशिक्षण शिविरबारे आ-आफ्ना अनुभवहरु बताएका थिए। समारोहमा प्रशिक्षार्थीहरुद्वारा प्रदर्शन खेलको आयोजना पनि गरिएको थियो। अध्यक्ष प्रेमेन्द्र गुरुङले यस शीतकालीन ब्याडमिन्टन प्रशिक्षण शिविरलाई सफल बनाउन सहयोग गर्ने मुख्य प्रशिक्षक मनिष छेत्री लगायत एसोसिएसनका वरिष्ठ सदस्य रमेश राई, महेन्द्र दर्नाल, तपेश्वर प्रसाद अनि ललित शर्मा साथै सम्पूर्ण सदस्यगण अनि अभिभावकवर्गप्रति आभार प्रकट गरेका छन्। खरसाङ ब्याडमिन्टन एसोसिएसनले भविष्यमा पनि ब्याडमिन्टन खेलप्रति जागरुकता ल्याएर स-साना नानीहरूलाई प्रोत्साहन दिई खरसाङ क्षेत्रबाट पनि धेरै खेलाडीहरुलाई अघि बढाउन प्रतिबद्ध रहेको जानकारी पनि दिए। आजको कार्यक्रममा एसोसिएसनका सदस्यहरु लगायत अभिभावकवर्गको पनि उपस्थिति रहेको थियो। दावा भोटियाद्वारा धन्यवाद ज्ञापन गरेपछि समारोह समापन गरियो।