पक्कीगाउँ स्कूलको कौस्तुभ जयन्ती तयारीबारे युद्धस्तरमा

IMG-20230213-WA0234.jpg

सोरेङ: सोरेङ समष्टिको पक्कीगाउँ स्कूलमा आगामी २१ फरवरीदेखि शुरु हुने कौस्तुभ जयन्ती तयारी हाल य़ुद्धस्तरमा चलिरहेको छ। आयोजक समितिको पक्षबाट स्कूलको सुन्दरीकरण, खेल मैदानको व्यवस्थापन, स्कूललाई सम्पर्क गर्ने सीसी फुटपाथ, कौस्तुभ पिलरको निर्माण, स्मारिका प्रकाशन सँगसँगै अन्य सबै कार्यहरु लगभग पूरा गरिसकेको छ। कौस्तुभ जयन्तीका सबै पदाधिकारी पनि आ-आफ्नो दाहित्व निर्वाह पूरा गर्न खटिरहेका छन्। क्षेत्र विधायक आदित्य गोलेको संरक्षकत्व सम्पन्न हुने यस पाँच दिवसीय कौस्तुभ जयन्ती कार्यक्रममा राज्यका मुख्यमन्त्री पीएस गोलेले पनि अंशग्रहण गर्ने तय भइसकेको छ। पक्कीगाउँ स्कूल मुख्यमन्त्रीको गृह समष्टि सोरेङ-च्याखुङ भित्र पर्दछ। उल्लेख्य, सोरेङ जिल्ला अन्तर्गत सरकारी माध्यमिक विद्यालय पक्कीगाउँले आफ्नो स्थापनाको ७५औं वर्षगाठलाई केन्द्र गर्दै पाँच दिवसीय कौस्तुभ जयन्ती पालन गरिने छ। यस ऐतिहासिक कार्यक्रममा हिल्स ओपन भलिबल टुर्नामेन्ट सँगसँगै प्रतियोगितात्मक विविध कार्यक्रमहरु समावेश गरिएको छ।

पक्कीगाउँ स्कूलको स्थापना सन् १९४७ मा भएको थियो। कौस्तुभ जयन्तीको तयारी विधायक आदित्य गोलेको मार्गदर्शन र आयोजक समितिको सक्रियतामा युद्धस्तरमा चलिरहेको पनि अध्यक्ष भण्डारीले जानकारी गराएका छन्। कार्यक्रमलाई भव्यता प्रदान गर्न प्रतियोगितात्मक विविध कार्यक्रम सँगसँगै हिल्स ओपन भलिबल टुर्नामेन्ट, पुरुष र महिला म्याराथन, हाजिरी जवाफ, तर्क, हस्तकला र नृत्य प्रतियोगिता र सिक्किमका चर्चित गायकहरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम पनि रहेको छ। अर्कोतिर भलिबल टुर्नामेन्टका विजेता टिमलाई नगद राशि दुई लाख रुपियाँ र उपविजेता टिमलाई एक लाख पचास हजार रुपियाँसहित आकर्षक ट्रफी र अन्य पुरस्कारहरु पनि खेलाडीहरुलाई प्रदान गरिने भएको छ। म्याराथनको निम्ति पनि आकर्षक नगद राशि र ट्रफी राखिएको छ।

About Author

Advertisement