दार्जीलिङ: सांसद राजु बिष्टले सोमाबर (१३ जनवरी) दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका लागि भारतको संविधानअन्तर्गत स्थायी राजनीतिक समाधानको माग संसदमा गरेका छन्। यसबारेमा उनले प्रेस विज्ञप्ति जारी गरेर यसो भनेका छन्, ‘हाम्रो क्षेत्र सदादेखि एउटा छुट्टै प्रशासनिक एकाईको रूपमा प्रशासित हुँदै आएको थियो। १८६१ पूर्व यो गैर-नियमित क्षेत्र नन-रेगुलेटेड एरिया) को रूपमा, १८६१-७० सम्म नियमित क्षेत्र (रेगुलेटेड एरिया) को रूपमा त्यसपछि फेरि १८७०-७४ सम्म गैर-नियमित क्षेत्र, अनि १८७४-१९१९ सम्म अधिसूचित जिल्ला (शेड्युल्ड डिस्ट्रिक्ट) को रूपमा,१९१९-१९३५ सम्म पिछड़िएको इलाकाको रूपमा, १९३५-४७ सम्म आंशिक रूपले अपवर्जित क्षेत्र (पार्सिअली एक्स्क्लुडेड एरिया) को रूपमा प्रशासित रहेको थियो अनि अन्ततः १९५६ मा लागू गरिएको आमिलित क्षेत्र (विधि) अधिनियम, १९५४ मार्फत पश्चिम बङ्गालमा गाभिएको/मिलाइएको होl’
‘त्यतिबेलासम्म हाम्रो क्षेत्र धेरै समृद्ध थियो, अनि एशियामा नै पहाड़ी क्षेत्रमा पहिलो नगरपालिका स्थापित भएको; भारतमा पहिलो पहाड़ी औद्योगिक क्षेत्र बनेको (चिया र सिंकोना उद्योग); देशमा रेलद्वारा जोड़िएको पहिलो पहाड़ी क्षेत्र बनेको; बिजुलीको कनेक्शन पाएको एशियामा नै पहिलो पहाड़ी क्षेत्र बनेको; अनि स्कूलको स्थापना गरिएको पहिलो पहाड़ी क्षेत्रको सम्मान प्राप्त थियो। तर, त्यसपछि पश्चिम बङ्गालमा एकपछि अर्को सरकारहरूअन्तर्गत दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रलाई सुनियोजित ढङ्गले वञ्चित राखिएको छ’, संसदमा बोलेको कुरा उनले विज्ञप्तिमा यसरी बताएका छन्।
दार्जीलिङ पहाडमा प्रशासनिक प्रणालीको कुनै अस्तित्व नभएको बताउँदै उनले भने, ‘पञ्चायती प्रणाली लागू छैन, यद्यपि संविधानको अनुच्छेद २४३एम-ले दार्जीलिङ गोर्खा पार्वत्य परिषदलाई एउटा कानूनी निकायको रूपमा स्थापित गर्दछl तर त्यसको स्थानमा अवैध रूपले जीटीए चलाइँदैछ। हाम्रो क्षेत्रलाई अवैध घुसपैठीहरूद्वारा सञ्चालित गरिराखिएको छ, जबकि स्वदेशी समुदायहरूलाई दिनप्रतिदिन एकातिर पन्छाइँदै छ। यसले हाम्रो राष्ट्रिय सुरक्षालाई पनि गम्भीर खतरा पुऱ्याइरहेको छl’ ‘केन्द्र सरकारलाई हाम्रो क्षेत्रको सम्मान अनि राष्टिय सुरक्षा आवश्यकताहरू माथि ध्यान दिइ, दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताका आकांक्षाहरूलाई पूरा गर्न भारतको संविधानअन्तर्गत तुरुन्तै स्थायी राजनीतिक समाधान (पीपीएस) सुनिश्चित गर्न अनुरोध गरें’, उनले यसो भनेका छन्l








