१३ फरवरीः कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं संस्करणमा सेमिफाइनलमा स्थान बनायो। सोमवार सुकना हाई स्कूल मैदानमा भएको चौथो क्वार्टर फाइनल म्याचमा केएफसी-ले नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अरुण तामाङले २२औं, अनित राईले ४८औं र आमिर लामाले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। केएफसी-का अरुण तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब मंगलवार खेलिने पहिलो सेमिफाइनल म्याचमा कालेबुङको युनाइटेड ब्रदर्स र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो सेमिफाइनल १५ फरवरीमा केएफसी र ५८ जीटीसी शिलंगबीच खेलिनेछ। म्याच दिउँसो २:४५ बजीदेखि शुरु हुनेछ। फाइनल १७ फरवरीमा खेलिनेछ।