टीआरआई समाचार
दार्जीलिङ: भागोप्रमो प्रमुख तथा जीटीएका मुख्य कार्यपाल अनित थापाले जीटीए क्षेत्रको चिया बगानका मानिसहरूलाई पर्जापट्टा प्रदान गरिने कुरो वास्तवमा आउँदो २०२४ को चुनाव जित्नको लागि नाटक मात्र रहेको भन्दै सभासद विनय तामाङले आरोप लगाएका छन्l पर्जापट्टाको सन्दर्भमा विनय तामाङले भने, ‘पर्जापट्टा दिइने कुरा नगरपालिका र पञ्चायत चुनाव जित्नुको लागि एउटा नाटक मात्र हो। सरकारले नोटिफिकेशन निकालोस्। सरकारी तौरमा यो पर्जापट्टा चिया बगानमा बसोबासो गर्ने सम्पूर्ण मानिसहरूको निम्ति हो भनेर लेखिएको हुनुपर्छ। बगानवासीलाई मात्र पर्जापट्टा दिएर हुँदैन। फरेष्ट बस्ती, सिन्कोना बगान, भेस्टेट ल्याण्डलाई पनि दिनुपर्योl’ उनले अझ भने, ‘दार्जीलिङ नगरपालिकाको जमिनको जति पनि जमिनको पर्जापट्टा छैन, हामी दिन्छौं भनेर लेखिएको हुनुपर्छl डीआई फण्ड र डेभलपमेन्ट एरिया एक्ट १९३५ को ब्रिटिशको नियम कानून रद्द गरेर १९५५ को ल्याण्ड एण्ड ल्याण्ड रिफर्म एक्टमा हालेर उनीहरूलाई पनि पर्जापट्टा दिएको हुनुपर्छ। वनवासीलाई सर्वोच्च न्यायलयले दिइसकेको पर्जापट्टा समेत यहाँ चोक्टा चोक्टा गर्दै दिँदैछl’ उनले अझ भने, ‘फरेष्ट बस्तीमा ट्राइबलहरूले पर्जापट्टा पाए। नन ट्राइबलहरूले पाएका छैनन्। त्यसैले यो पर्जापट्टा दिने कुरा देखावटी मात्र होl’ आउँदो २०२४ सम्म सबैको हात हातमा पर्जापट्टा दिए उनीहरूको खुट्टा समेत ढोक्न आफू तयार रहेको विनय तामाङले बताएका छन्।