काठमाडौं: माओवादी आन्दोलनको २८औं जनयुद्ध दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका विभिन्न पक्षलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्। २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टीको मुख्यालय पेरिसडाँडामा सोमबार (१३ फरवरी) आयोजित कार्यक्रममा उनले देशको समृद्धिका लागि माओवादीका विभिन्न पक्षबीच एकता आवश्यक रहेको बताए। आफ्नो सम्बोधनको क्रममा उनले भने, ‘यो हामी सबैका निम्ति खुशी साथै गर्वको कुरा पनि हो, केही समयदेखि आन्दोनललाई एकतावद्ध गर्ने प्रक्रिया अगाडि बढेको छl सबैले आआफ्नो ढङ्गले त्यो एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि गरेका छन्l’ आफैँले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘त्यसले माओवादी नेता कार्यकर्तामा मात्र होइन आम नेपाली जनतालाई पनि फेरि एक पटक नयाँ ढङ्गले उत्साहित गर्नेछ, नयाँ ढङ्गले सङ्गठित गर्ने काम हुनेछl’ माओवादी आन्दोलनभित्रका मात्रै होइन, कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको उनको भनाइ छ। उनले भने, ‘भोलिको नेपालको नेतृत्व लिन विकल्पका रुपमा छिट्टै एउटा समाजवादी मोर्चा अगाडि आउनेछl यसका लागि तपाईंहरुले आआफ्नो ठाउँबाट पहल गर्नुपर्नेछl’
कार्यक्रममा प्रधानमन्त्री दाहालले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताए। उनले अझ भने, ‘जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्योl यसलाई ठीक ढङ्गले स्थापित गर्ने जिम्मेवारी भने तपाईं हाम्रै होl ‘हामीले नै यसलाई आम जनताका बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतर्फ लैजानुपर्ने आवश्यकता छl’ यो ऐतिहासिक दिन भएका हुनाले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपर्ने थियो भन्दै उनले ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। यसबारेमा उनले भने, ‘यो निर्णय सम्पूर्ण शहीद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिप्रतिको सम्मान होl यो परिवर्तनलाई अब सामाजिक, आर्थिक रुपान्तरणतर्फ अगाडि बढाउने सङ्कल्प पनि होl’ यो दिवसलाई स्मरण गर्दै अहिले आफूहरु सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढेको उनको भनाइ छ। अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको जनाउँदै उनले आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताए।