सोरेङ: जिल्ला पञ्चायत सदस्य किरण गुरुङको अध्यक्षतामा टेरिटोरियल समष्टिभित्रका सम्पूर्ण ग्राम पञ्चायत सदस्यहरूको संयुक्त तत्वावधानमा सरकारी कर्मचारीगण एवं भूतपूर्व कर्मचारीहरूको एक समन्वय बैठक स्थानीय च्याखुङस्थित विज्ञान महाविद्यालयको प्रेक्षागृहमा शनिवार सम्पन्न भयो।
बैठकलाई सम्बोधन गर्दै जिल्ला पञ्चायत किरण गुरुङले वर्तमान एसकेएम पार्टी सरकार सत्तामा आएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यभरि नै विकास एवं जनकल्याणकारी कार्यहरु भइरहेको विचार पोखे। च्याखुङमा नेताजी सुभाषचन्द बोस सेण्टर अफ् एक्सिलेन्स जस्तो एक अन्तरराष्ट्रिय स्तरको शैक्षिक संस्थान ल्याइदिएकोमा राज्य सरकारप्रति आभार प्रकट गरे। यसको पूर्वाधार निर्माण कार्य युद्धस्तरमा भइरहेको उनले जानकारी गराए। तीन वर्षको छोटो अवधिमा यस च्याखुङ टेरिटोरियल समष्टि भित्रका ग्राम पञ्चायत क्षेत्रमा कैयौं विकासका कार्यहरु भइरहेको उल्लेख गर्दै राज्य सरकारले लगाएको ठूलो गुण फर्काउने दिन आउँदैछ भन्ने विचार पोखे। तसर्थ २०२४-को आम चुनाउमा एसकेएम पार्टीका उम्मेदवारलाई सिक्किमको सबै समष्टिहरु भन्दा ज्यादा प्रतिशत भोट दिएर विजय गराउनुपर्ने उनले आह्वान गरे।
उक्त समन्व्यक सभामा सबै कर्मचारीगण, भूतपूर्व कर्मचारीगण, पञ्चायतगण लगायत अन्यहरुले आ-आफ्नो विचार पोख्दै वर्तमान सरकारको कार्यहरुको सराहना गरे।