गान्तोक: राज्यका प्रत्येक नागरिकले सम्मानपूर्वक जीवन जिउनु पाउनुपर्छ भन्ने मानवतावादी सोंच राखेर कार्य गर्ने मुख्यमन्त्री पीएस गोलेकै दूरदर्शितामा राज्य सरकारबाट राम्रो सहयोग पाउनथालेपछि लगभग १५ वर्षदेखि घरविहीन वृद्ध-वृद्धाहरूलाई आश्रय दिएर सेवा पुऱ्याउँदै आइरहेको वृद्धाश्रम ली आल अर्थात् नयाँ घरले नयाँ भर पाएको छ। उनीहरूलाई अझ ऊर्जा प्रदान गर्न राज्यका महिला एवं बाल विकास मन्त्री सञ्जीत खरेलले यस वृद्धाश्रमको स्थलगत भ्रमण गरे। यस अवधि उनीसँग विभागीय सचिव गंगा देवी प्रधान लगायत अन्य अधिकारीहरू साथमा रहेका थिए। वृद्धाश्रमकी सञ्चालिका पासाङकित लेप्चाको अनुरोधलाई ध्यानमा राख्दै मन्त्री खरेलले त्यहाँ वृद्ध-वृद्धाहरूको हेरचाहको निम्ति एक परिवार एक नोकरीमार्फत कार्यरत तीनजना सहयोगीहरू नियुक्त गरिदिने वचन दिए। यसको निम्ति उनले तत्काल विभागीय सचिवलाई निर्देश पनि दिए। योसँगै मन्त्री खरेलले आफ्नो पक्षबाट आर्थिक सहयोगसँगै केही आवश्यक सामग्री प्रदान गर्दै वृद्धाश्रमलाई सम्भवत सहयोग पुऱ्याउने वचन दिए।
जानकारी गराइन्छ, मंगन जिल्लाको तिन्तेकमा स्थापित यो वृद्धाश्रम २००८-देखि नै सञ्चालनमा आइरहेको छ। समाजसेवी पासाङकित लेप्चाको पहलमा शुरु गरिएको यस ली आलमा हाल २६ जना वृद्ध-वृद्धाहरू बस्ने गर्छन्। उनीहरू घरविहीन मात्र होइन धेरैजना विरामी पनि छन्। यस्तोमा वर्तमान राज्य सरकार उनीहरूको अभिभावक बनेर अघि आएको छ। एसकेएम सरकारअघि राज्य सरकारबाट वर्षेनि ५० हजारदेखि एक लाख रुपियाँसम्म मात्र सहयोग पाउने गर्थ्यो भने गत वर्ष ५ लाख प्रदान गरिएको थियो भने यसपाली १० लाख प्रदान गरिने भएको महिला एवं बाल विकास विभागीय सचिव गंगा देवी प्रधानले जानकारी गराइन्। योसँगै विभागको तर्फबाट ह्वील चियर, वृद्धाश्रमसम्म पुग्ने नयाँ सड़क निर्माण गरिएको छ भने योसँगै अन्य आवश्यक पूर्वाधारहरू विकास गरिदिने भएको छ।