गान्तोक: राज्यका महिला एवं बाल विकास विभागीय मन्त्री सञ्जीत खरेलको मुख्य आतिथ्यमा आज स्यारीस्थित स्पेशल स्कूलमा एक कार्यक्रममाझ त्यहाँ अध्ययनरत दिव्याङ्गहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गरियो। योसँगै ती विद्यार्थीहरूका अभिभावकहरूलाई तालिम पनि दिइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सञ्जीत खरेलले दिव्याङ्गहरूलाई शिक्षा दिन साथै उनीहरूको हेरचाह गर्न खुबै चुनौतीपूर्ण कार्य रहेको उल्लेख गर्दै यसको निम्ति पाठशाला परिवारप्रति आभार प्रकट गरे। राज्यका मुख्यमन्त्री पीएस गोले दिव्याङ्गहरूको विकासमा सधैं अग्रसर रहेको अनि दिव्याङ्गहरूलाई उनीहरूको क्षमताअनुरुप हरेक क्षेत्रमा अघि बढ़ाउन मुख्यमन्त्री कटिबद्ध रहेको बताए। उपस्थित अभिभावकहरूलाई सम्बोधन गर्दै मन्त्री खरेलले आमा-बाबाले पनि आफ्नो नानी दिव्याङ्ग छ भनेर कहिले नसोच्नुपर्ने आह्वान गर्दै हामीमाभन्दा कति कुरामा उनीहरू धेरै क्षमतावान रहने हुनाले उनीहरूको ती कलालाई निखार्नुपर्ने आह्वान गरे। जानकारी गराइन्छ, राज्यभरि यस्ता मोठ तीनवटा स्कूल रहेको छ जसमा दिव्याङ्गहरूलाई विशेष शिक्षा दिइने गर्छ। यी स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सोही क्षेत्रमै नोकरी दिइनु सके उत्तम हुने विचार पोख्दै मन्त्री खरेलले राज्यका तीनैवटा स्कूलमा २-२ जना दिव्याङ्ग शिक्षित नानीहरूलाई नोकरी दिने व्यवस्था गरिने घोषणा गरे।
स्कूलका प्रधानाध्यापक राम प्रसाद ढकालद्वारा प्राप्त जानकारी अनुसार, हाल स्कूलमा कक्षा एकदेखि पाँचसम्म सञ्चालन गरिँदैछ जसमा पाँचौं श्रेणी यसैपालीदेखि शुरु गरिएको हो। यहाँ राज्यभरिकै मोठ ८८ जना दिव्याङ्ग नानीहरूले शिक्षा लिने गर्छन् जसमध्ये ५१ जना स्कूलकै होस्टेलमा बस्ने गर्छन्।
जानकारी गराइन्छ, यो स्पेशल स्कूल १९९३-देखि नै सञ्चालनमा आइरहेको भएपनि एसकेएम सरकार आएपछि २०२०-मा मात्र यसलाई सरकारले आफ्नो अधीनमा लिएको हो। यसअघि स्पास्टिक सोसाइटी अफ् सिक्किमद्वारा यो सञ्चालित थियो। हाल यहाँ पाँचजना डिप्लोमा शिक्षकहरूसँगै मोठ २४ जना स्टाफ रहेका छन्।
आजको कार्यक्रममा महिला एवं बाल विकास विभागीय सचिव गंगादेवी प्रधान, लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन स्कूलका प्रधानाध्यापक राम प्रसाद ढकालले गरेका थिए।