गान्तोक: सिक्किमका नेपाली समुदायमाथि लागेको विदेशीको ट्याग सधैंको निम्ति मेटिएको भन्दै एसकेएम पार्टीले मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरेको छ। केन्द्र सरकारसँग मुख्यमन्त्री पीएस गोलेको नीतिगत सम्बन्धका कारण मुद्दा छोटो समयमा समाधान भएको दाबी गर्दै पार्टीले सर्वोच्च न्यायालयको नयाँ आदेशलाई स्वागत जनाएको छ साथै यो जीतलाई सिक्किमेको जीत बताएको छ।
आइतवार गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसकेएम पार्टीका प्रचार प्रसार संयोजक विकास बस्नेत र प्रवक्ता जेकब खालिङले एसकेएम सरकार संवेदनशील रहेका कारण जटिल मुद्दालाई पनि समयमा नै समाधन गर्न सकेको बताए। हाम्रो सिक्किम पार्टी अध्यक्ष भाइचुङ भोटिया र अन्य कतिपय मानिसहरूले सरकारमाथि लगाएका आरोप निराधार बताउँदै सर्वोच्च न्यायालयको मुद्दामा कसैले पनि राजनैतिक रोटी नसेक्नु भन्ने सुझाउ पनि दिए।
ओल्ड सेटलर्सले आयकर छुट पाउँदा पनि संविधानको धारा ३७१ एफ अन्तर्गत सिक्किम राज्यले पाएको विशेष अधिकार पूर्ण सुरक्षित रहेको ठहर गर्दै एसकेएम पार्टीले जनतालाई कसैले पनि दिग्भ्रमित नगर्न सुझाउ दिएको छ। एसकेएम प्रवक्ता जेकब खालिङले सिक्किमे नेपाली समुदायलाई लागेको विदेशीको दाग हटाउन तत्काल गरेको पदक्षेपका लागि सर्वोच्च न्यायालय, प्रधानमन्त्री, गृहमन्त्री, कानून मन्त्री लगातका सम्पूर्ण सहयोगी पक्षप्रति पार्टी आभारी रहेको बताए। उनले राज्यका मुलवासी नागरिकलाई परिभाषित गरेको सिक्किमे शब्द निरस्त भएको भन्ने विषयलाई अस्वीकार गर्दै सबै सिक्किमेली जाति सुरक्षित छन् र कुनैपनि वर्गमा आँच आउने काम नभएको बताए।