१२ फरवरीः खरसाङ फूटबल एसोसिएसन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फूटबल प्रतियोगितामा एएसओएस कलकत्ताले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। आइतवार चानमारी खेल मैदानमा खेलिएको म्याचमा एएसओएस कलकत्ताले डुवर्स फूटबल एकाडमीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट तितली सरकार र संगीता सिंघाले १-१ गोल गरिन्। विजेता टीमकी सलिना कुमारीलाई स्टार अव् द म्याच चयन गरियो। उनलाई आजका अतिथि खरसाङ ब्याडमिण्टन एसोसिएशनका अध्यक्ष पेमेन्द्र गुरुङको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

यसरी नै डुवर्स एफए-को टीमलाई स्मृति चिन्ह बडी बील्डिंग एण्ड फिटनेस एसोसिएशनका अध्यक्ष तथा राष्ट्रिय जज सञ्जय छेत्रीको बाहुलीबाट प्रदान गरियो। अब सोमवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा सोरेंग एफसी (सिक्किम) र जीपीएसए कुचबिहारबीच भिड़न्त हुनेछ। फाइनल १५ फरवरीमा हुनेछ।