भाह तकभर बिर्खे धुरा कल्याण समिति, दार्जीलिङको तत्त्वावधानमा आयोजित भाह तकभर विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जीबी सेभेन एफसी-ले फाइनलमा स्थान बनायो। भाह तकभर खेल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनलमा जीबी सेभेन एफसी-ले सिंगामारी लायन्स क्लबलाई ४-२-ले पराजित गऱ्यो। म्याचको नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। त्यसपछि अतिरिक्त समयको खेलमा दुई गोल गरी जीबी सेभेन एफसी-ले फाइनलमा स्थान बनायो। विजेता टीमबाट म्याक्सवेलले २ गोल गरे। यसबाहेक एके र वांगदेन तामाङले १-१ गोल गरे। यसरी नै सिंगामारी लायन्स क्लबबाट प्रभेश रोय र टाशी भूटियाले १-१ गोल गरे। प्रभेश रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने दोस्रो सेमिफाइनलमा गाउँशाला एफसी र एमजेएस-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल १९ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।