गान्तोक: आगामी दिनमा सम्पन्न हुने जी२० सम्मेलन तयारीबारे आज पाकिम हवाइ अड्डा परिसरमा राज्यका अतिरिक्त मुख्य सचिव (गृह विभाग) ए. सुधाकर रावको अध्यक्षतामा एक सभा सम्पन्न भयो। सभामा आगामी १६-१८ मार्चसम्म सम्पन्न हुने जी २० सम्मेलनबारे चर्चा चरिचर्चा गरेको जानकारी गराइएको छ। सभा पश्चात अतिरिक्त मुख्य सचिव, संस्कृति एवम धरोहर विभागका सचिव, पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लगायत अन्य अधिकारीवर्गले उक्त सम्मेलनमा सिक्किम आउने प्रतिनिधिहरूको आगमनमाथि प्रबन्धनबारे छलफल गऱ्यो। विशेष गरेर उक्त सम्मेलनलाई दुई भागमा विभाजन गरिएको छ, जसमा जी २० बिजिनेस र स्टार्टअप २० रहेको छ। अतिथिहरूको स्वागत हेतु राज्यका २१ समुदायले आफ्नो पारम्पारिक भेषवुषामा सजिएर राज्यको संस्कृतिबारे झल्काउनेछन्। प्रतिनिधिहरूको निम्ति यातायात, मेडिकल, सुन्दरीकरण आदिबारे पनि जानकारी गराइयो। यस अवसरमा ग्रामीण विकास विभाग, स्पेशल ब्राञ्च, पर्यटन, सडक एवम पुल विभागका अधिकारीहरूले पनि अंशग्रहण गरेका थिए। उक्त कार्यक्रममा हिमाली राज्य सिक्किम भारतमा विलय पछिको यहाँको संस्कृति र परम्पराको प्रगतिबारे दर्शाउने छन्।