गान्तोकः सिक्किममा सञ्चालित सरकारी र निजी वेबसाइटहरूको जाँच गर्नका लागि गठित कमिटीका अध्यक्ष वाणिज्य एवं उद्योग विभागका सचिव कर्मा आर. बोन्पोको अध्यक्षतामा आज कमिटीको पहिलो बैठक बस्यो।
विभागै सम्मेलन हलमा बसेको बैठकमा कमिटीका सदस्यहरू नम्रता थापा (आईपीआर विभाग सचिव), योगेन्द्र शर्मा (आईटी विभाग सचिव), प्रकाश छेत्री (पर्यटन विभाग सचिव) र बसन्त कुमार लामा (संस्कृति विभाग सचिव) उपस्थित थिए। कमिटीलाई राज्यमा सोशियल मिडिया प्लेटफर्म र अन्य हितधारकहरूद्वारा प्रकाशित भिडियो, ब्रोशर, पेम्प्लेट, वेबसाइट आदिसँग सम्बन्धित सामग्रीहरूको निगरानी गर्न र त्यसलाई रद्द गर्ने अधिकार दिइएको छ।
कमिटीको बैठकमा गलत सूचनाहरूको सम्प्रेषणका कारण राज्यको प्रतिष्ठामाथि पर्न सक्ने प्रभाव विषय पनि चर्चा गरियो। कमिटीले समाजमा असामंजस्प फैलिने र शान्ति भंग गर्न सक्ने सामग्रीहरू सम्प्रेषण गर्न संलग्न सबै हितधारकहरू र जनसाधारणमा सार्वजनिक सूचना प्रसार गर्ने निर्णय लिएको छ।









