गान्तोकः राज्यसभाकी सासंद शान्ता छेत्रीले हिजो सदनमा लेप्चा भाषालाई पनि अन्य भाषा सरह संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गरिनुपर्ने माग राखिन्l विशेष गरेर सांसद छेत्रीले हिजो शून्य कालमा सो उठाएकी हुन्। सांसद छेत्रीले राज्यसभामा उक्त माग उठाएपछि त्यसलाई फत्ते गर्न अल इण्डिया कमिटी फर कन्सिट्टियुसनल रिकमग्रिसन अफ लेप्चा ल्याङगवेज इन द एट सेड्युलले अघि बढाउने भएको छ। आज राजधानिस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थाका प्रमुख संरक्षक नोर्जाङ लेप्चाले यस संस्थाको गठन वर्ष २०१८ मा गरिएको जानकारी गराए। लेप्चा भाषाले संवैधानिक मान्यता पाएपछि यसको स्वतः विकास भएर जाने साथै यसले सम्पूर्ण लेप्चा समुदायलाई लाभ पुग्न सक्ने उनले मन्तव्य प्रकट गरे। लेप्चा भाषालाई मान्यता दिलाउनको निम्ति शीघ्र एउटा टोली गठन गरेर दिल्ली प्रस्थान गर्ने पनि उनले अवगत गराए। उक्त टोलीले दिल्लीमा सांसदहरूलाई भेट गर्दै यस विषयमा जानकारी गराउनको साथै सहयोग माग्ने बताए।
यसका साथै राज्य सरकारलाई पनि यस विषयमा अवगत गराएर लेप्चा भाषालाई मान्यता दिलाउनको निम्ति विशेष भूमिका निर्वाह गरिदिने अपील गर्ने योजना रहेको उनले जानकारी गराए। हाल सिक्किम राज्यमा ५० हजारभन्दा अधिक लेप्चा समुदाय रहेको जानकार गराउँदै देशभरिमा १ लाख ५० हजारभन्दा अधिक लेप्चा समुदायको जनसंख्या रहेको उनले बताए। अहिले लेप्चा भाषामा विश्वविद्यालयसम्म पढाइ भइरहेको पनि उनले थप जानकारी गराए। उनले सिक्किमे नेपालीमाथि लागेको विदेशीको कलंक हटाउन सफल बनेकोमा राज्यका मुख्यमन्ती प्रेमसिंह तामाङलगायत यसको निम्ति पहल गर्ने सबै संघ-संस्थाहरूलाई धन्यवाद दिए। यस अवसरमा संस्थाकी सदस्य मायालमित लेप्चाले पनि सम्बोधन गरेकी थिइन्।