गान्तोक: केन्द्रीय शिक्षा तथा कौशल विकास एवं उद्यमिता मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय विधि एवं न्याय मन्त्री किरेन रिज्जु, केन्द्रीय संस्कृति, पर्यटन तथा डोनर मन्त्री जी किशन रेड्डी, केन्द्रीय खेलकूद एवं युवा मामिला तथा सूचना एवं प्रसारण मन्त्री अनुरागसिंह ठाकुर, शिक्षा राज्यमन्त्री डा. सुभाष सरकार तथा शिक्षा राज्यमन्त्री राजकुमार रञ्जनसिंहको उपस्थितिमा युवा सङ्गम पोर्टल शुभारम्भ गरे। यस अवसरमा पूर्वोत्तरका सांसदहरू पनि उपस्थित थिए।
जनमानससँग जोडिने क्रमलाई शक्ति प्रदान गर्नका साथै पूर्वोत्तर लगायत अन्य राज्यका युवाहरूबीच सौहार्दता बढाउने उद्देश्यका साथ भारत सरकारको शिक्षा मन्त्रालयले विभिन्न मन्त्रालय अनि विभाग जस्तै संस्कृति, पर्यटन, रेलवे, सूचना एवं प्रसारण, युवा मामिला एवं खेलकूद, गृह मामिला तथा पूर्वोत्तर क्षेत्र विकास विभाग अनि आईआरसीटीसीको सहयोगमा एक भारत श्रेष्ठ भारत अन्तर्गत “युवा सङ्गम”को अवधारणा आत्मसात गरिएको हो। युवा सङ्गमको शुरुवातमा करिब एक हजार युवाले भाग लिनेछन्। युवा सङ्गमले पूर्वोत्तरका विद्यार्थीहरूका साथै पढाई पूरा गरेका युवाहरूका लागि अन्य राज्यमा तथा अन्य राज्यका युवाहरूको पूर्वोत्तर राज्यहरूमा अध्ययन भ्रमण आयोजन गर्नेछ। यसले पर्यटन, परम्परा, प्रगति अनि परस्पर सम्पर्क जस्ता चार विस्तृत विषयमा बहुआयामिक साथै गहन अनुभव प्रदान गर्नेछ।
यस अवसरमा बोल्दै केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले पूर्वोत्तर अनि रहल भारतका जनमानसबीच सम्बन्ध प्रगाढ बनाउने प्रधानमन्त्रीको एउटा अभिनव पहल रहेको बताए। एक भारत श्रेष्ठ भारतको भावना अनुरूप, युवा सङ्गमले जनमानसबीच परस्पर सम्बन्ध सुदृढ बनाउनका साथै पूर्वोत्तरको जीवन्त संस्कृतिलाई सुप्रवाहित गर्नका अतिरिक्त विशेष गरी पूर्वोत्तरका युवाहरूका लागि ज्ञान विनिमयको व्यापक अवसर प्रदान गर्ने पनि उनले बताए।
युवा सङ्गमले भारतको विविधताको उत्सव मनाउनका साथै ऐक्यताको भावना पुनरूद्धार गरी प्रधानमन्त्रीद्वारा परिकल्पना गरिएको भारतीय लोकतन्त्रको शक्ति प्रकाश पार्ने मन्त्री प्रधानले बताए। यसका साथै युवा सङ्गम जस्तो विशेष पहलले अमृतकालमा भारतको भावनालाई थप बल प्रदान गर्ने उनले दाबी गरे। युवाहरूलाई यसका लागि पञ्जिकरण गराउन अघि आउने आह्वान गर्दै उनले सुझावहरूको पनि अपील गरेका छन्।
यसै गरी युवा सङ्गमले यसमा सभागी बन्ने हजारौं युवाहरूबीच साझा समझदारीको भावना जगाउने र यो देशभरी गुञ्जिनका साथै श्रेष्ठ भारतको निर्माण उल्लेखनीय तरिकाले योगदान दिने केन्द्रीय विधि एवं न्याय मन्त्री किरेन रिज्जुले आफ्नो सम्बोधनमा बताए। प्रधानमन्त्रीले सन् २०१४ मा एक भारत श्रेष्ठ भारतको भावनालाई अझ विस्तारित गर्न अनेकौं विकास परियोजना अनि कार्यक्रम शुभारम्भ गरी शक्तिशाली एकबद्ध भारतको परिकल्पना गरेको पनि उनले बताए। यसै गरी मन्त्री जी किशन रेड्डीले भारतको विविधतासँग युवाहरूलाई चिन्हित गर्न र बुझाउन युवा सङ्गम यात्राहरू विभिन्न राज्यका युवाका साथ, एक-अर्काका धरोहर, संस्कृति, परम्परा, रिवाजको सम्मान गर्न सिकाउने उद्देश्यका साथै श्रेष्ठ भारतको भावनालाई व्यापकता प्रदान गर्न आयोजन गरिने उल्लेख गरे। कार्यक्रमको अवधिमा विद्यार्थीहरूले भाषा, साहित्य, परिकार, चाड-पर्व अनि पर्यटन जस्ता विषयमा संवाद अनि अन्तरक्रिया गर्ने उनले बताए। अति नै बेग्लौ भूगोल अनि सांस्कृतिक परिदृश्यमा जीवन बिताउने पहिलो अनुभव उनीहरूले पाउने पनि उनले जानकारी दिए।
यसै गरी केन्द्रीय सूचना एवं प्रसारण तथा खेलकूद एवं युवा मामिला मन्त्री अनुरागसिंह ठाकुरले भारत विशेष राष्ट्र रहको र यसको तानाबाना विविध भाषिक, सांस्कृतिक अनि धार्मिक धागोले बुन्दै मिश्रित राष्ट्रिय पहिचान प्रदान गरेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा राष्ट्रिय शिक्षा नीति सन् २०२०, खेलो इण्डिया, फिट इण्डिया मुभमेन्ट, बजेट आबन्टनमा वृद्धि आदिले देशका युवावर्ग धेरै लाभान्वित बनिरहेको बताए। एक भारत श्रेष्ठ भारतको परिकल्पना, विभिन्न प्रदेश अनि क्षेत्रका जनमानसबीच निरन्तर अनि संरचित सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यका साथ प्रधानमन्त्रीद्वारा शुरु गरिएको उनले बताए। यी पहलहरूले युवाहरूलाई अमृतकालदेखि स्वर्णिम कालसम्म पुऱ्याउन सशक्त बनाउने पनि उनले बताए। कार्यक्रममा उच्च शिक्षा सचिव के सञ्जय मूर्तिले सबै अतिथिलाई स्वागत जनाए भने एआइसीटीईका अध्यक्ष टीजी सीतारामले धन्यवाद ज्ञापन पेश गरे। पोर्टलबारे विस्तृत प्रस्तुति प्रविधिका लागि राष्ट्रिय शिक्षा गठबन्धनका प्रमुख समन्वयन अधिकारी डा. बुद्ध चन्द्रशेखरले पेश गरे। -पीआईबी









