१० फरवरीः कप्तान रोहित शर्मा (१२०)-को शतकपछि तल्लो क्रममा रविन्द्र जडेजा (अविजित ६६) अनि अक्षर पटेल (अविजित ५२)-को अर्द्धशतकीय ईनिंग्सको दममा भारतले पहिलो टेस्ट म्याचमा धेरै हदसम्म नियन्त्रण हासिल गऱ्यो। भारतले आज दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ७ विकेट गुमाएर ३२१ रन बटुल्यो। यसरी भारतसँग अहिले पहिलो ईनिंग्सको आधारमा १४४ रनको महत्त्वपूर्ण बढ़त रहेको छ। अष्ट्रेलियाको पहिलो ईनिंग्स १७७ रनमा समाप्त भएको थियो। दिनको खेल समाप्त हुँदासम्म क्रीजमा अविजित रहने जडेजा र अक्षरले आठौं विकेटको निम्ति ८१ रनको अटूट साझेदारी गरेका छन्। जडेजाले १७० बल खेलेर नौवटा चौका लगाएका छन्।

यसरी नै अक्षरले १०२ बल खेलेर आठवटा चौका लगाएका छन्। यसअघि कप्तान रोहितले २१२ बल खेलेर १५ वटा चौका र २ वटा छक्काको साथ १२० रन बनाए। अष्ट्रेलियाई बलरहरूमा टड मर्फीले सर्वाधिक ५ विकेट हासिल गरे।
पहिलो दिनको स्कोर १ विकेटमा ७७ रनदेखि अघि खेल्दै भारतले आज रविचन्द्रन अश्विन (२३), चेतेश्वर पुजारा (७), विराट कोहली (१२) र सूर्यकुमार यादव (८)-लाई लगातार अन्तरालमा गुमायो। त्यस समय अष्ट्रेलियाले भारतलाई दबाउमा पारे पनि रोहितले चाँड़ै जडेजासँग मिलेर मोर्चा सम्हाले। यी दुईले मिलेर छैटौं विकेटको निम्ति ६१ रनको साझेदारी गरे। रोहित शतक पूरा गरेर आउट भएपछि शिकर भरत (८) पनि चाँड़ै आउट भए। यसरी २४०-को स्कोरमा भरत आउट भएपछि जडेजा र अक्षरले लड़ाइँ शुरु गरे अनि दिनको अन्तसम्म अष्ट्रेलियाई बलरहरूलाई खुशी हुने मौका दिएनन्।









