१० फरवरीः खरसाङ फूटबल एसोसिएसन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फूटबल प्रतियोगितामा एएसओएस कलकत्ताले एकतर्फी जीतको साथ सेमिफाइनलमा स्थान बनायो। शुक्रवार चानमारी खेल मैदानमा खेलिएको म्याचमा एएसओएस कलकत्ताले वरियर्स एफसी बागडुग्रालाई ६-०-ले पराजित गऱ्यो। विजेता टीमबाट तितली सरकार र सलिना कुमारीले २-२ गोल गरिन्। यसबाहेक हेमा मानिक र एस सिंहले १-१ गोल गरिन्। विजेता टीमकी तितली सरकारलाई स्टार अव् द म्याच चयन गरियो। उनलाई आजका अतिथि पूर्व फूटबलर वांगदेन भूटिया र अल्केश तामाङको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

आजको म्याच समाप्त हुनको साथै सेमिफाइनलको समीकरण तयार भयो। आजको विजेता एएसओएस कलकत्ताले १२ फरवरीको दिन खेलिने पहिलो सेमिफाइनलमा डुवर्स फूटबल एकाडमीको चुनौती स्वीकार्नेछ। यसरी नै दोस्रो सेमिफाइनल म्याच १३ फरवरीमा सोरेंग एफसी (सिक्किम) र जीपीएसए कुचबिहारबीच खेलिनेछ। फाइनल १५ फरवरीमा हुनेछ।









