उत्तर दिनाजपुर: इस्लामपुर सहरका विभिन्न मन्दिरमा गएराति अज्ञात समूहले मूर्ति तोडफोड गरेको घटनाले पूरै सहरमा तनाब मच्चाएको छ। दिनहुँ हुने यस्ता घटनाका कारण क्षेत्रका बासिन्दामा चर्को आक्रोश छ। घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी प्रशासनले २४ घण्टाको समय मागेको मन्दिर प्रवर्द्धकले बताएका छन्। बुधबार राति इस्लामपुरको शिवडांगी इलाकामा रहेको मन्दिरको ताला तोडेर कालीको मुर्ति तोडफोड गरेको बताइएको छ। यसैबीच इस्लामपुर शहरको मिलनपल्ली क्षेत्रमा रहेको अष्टप्रहर कीर्तनस्थलमा रहेको राधाकृष्णको मुर्ति तोडफोड गरिएको आरोप छ। सहरका यी दुई मन्दिरको मुर्ति तोडेको घटनाको खबर फैलिने बित्तिकै ती क्षेत्रमा मानिसको भीड लाग्न थाल्यो। भत्किएको मूर्ति देखेपछि स्थानीयमा आक्रोश फैलियो। वास्तविक दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयवासीले शिवडांगीपाडा र मिलनपल्ली क्षेत्रमा राज्य राजमार्ग अवरोध गरी विरोध प्रदर्शन गरेका छन्। प्रहरी प्रशासनको आश्वासनपछि स्थानीयले जाम हटाएका थिए। तर, २४ घण्टाभित्र वास्तविक दोषीलाई पक्राउ नगरे चर्को आन्दोलन गर्ने मन्दिर समितिले चेतावनी दिएको छ।