सूर्यकुमार यादव र केएस भरतको टेस्ट पदार्पण

IMG-20230209-WA0001.jpg

९ फरवरीः भारत र अष्ट्रेलियाबीच नागपुरमा बिहीवारदेखि शुरु बोर्डर-गावस्कर ट्रफीको पहिलो टेस्ट म्याचमा भारतको तर्फबाट दुईजना खेलाड़ीले पदार्पण गरे। कप्तान रोहित शर्माले पहिलो टेस्ट म्याचको निम्ति प्रथम एकादशमा विध्वंशी ब्याटर सूर्यकुमार यादव र विशेषज्ञ विकेटकीपर केएस भरतलाई सामेल गरे। सूर्यकुमारलाई भारतका पूर्व कोच रवि शास्त्रीले भारतीय टेस्ट टीमको क्याप दिए। उनले भारतको निम्ति वनडे र टी२०आई प्रारूपमा चाहिँ अगावै पदार्पण गरेका छन्। यसरी सूर्यकुमारले ३० सालको उमेरपछि खेलको तीनैवटा प्रारूपमा पदार्पण गर्ने अनौठो रेकर्ड बनाए। उनले आज ३२ वर्ष र १४८ दिनको उमेरमा टेस्ट पदार्पण गरे। यसअघि उनले १४ मार्च २०२१-मा ३० साल १८१ दिनको उमेरमा टी२०आई र त्यही साल जुलाईमा उनले वनडे पदार्पण गरेका थिए।
सूर्यकुमार अहिले टी२०आई प्रारूपमा विश्वका नम्बर एक ब्याटर हुन्। उनले भारतको निम्ति ४८ वटा टी२० म्याच खेलेर ४६.५३-को औसतले १६७५ रन बनाइसकेका छन्। यसमा तीनवटा शतक र १३ वटा अर्द्धशतक सामेल छ। यसरी नै उनले भारतको निम्ति २० वटा वनडे म्याच खेलेर ४३३ रन बनाएका छन्। सूर्या बाहेक आज विकेटकीपर ब्याटर केएस भरतले पनि टेस्ट क्याप हासिल गरे। उनलाई टीमका सीनियर ब्याटर चेतेश्वर पुजाराले टेस्ट क्याप प्रदान गरे। अष्ट्रेलिया विरुद्ध पहिलो टेस्ट म्याचमा उनलाई ईशान किशनमाथि प्राथमिकता दिइयो। यी दुई खेलाड़ीबीच भारतलाई धेरै आशा रहेको छ। नागपुरमा आजदेखि शुरु पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्ने फसेला गऱ्यो। समाचार लेख्दासम्म अष्ट्रेलियाले २९ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको थियो। मार्नस लाबुशेन ३९ र स्टीव स्मिथ १७ रनमा अविजित छन्।ओपनरद्वय डेविड वार्नर र उस्मान ख्वाजा १-१ रन बनाएर शुरुमै आउट भए। भारतले आज प्रथम एकादशमा रविन्द्र जडेजा, रविचन्द्रन अश्विन र अक्षर पटेलको रूपमा तीनजना स्पिनर खेलायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement