सर्वोच्च न्यायालय विदेशीको कलंक हटाउन सहमत, यो निर्णय ऐतिहासिकः जेकब खालिङ

IMG-20230208-WA0109.jpg

गान्तोक: १३ जनवरी २०२३-को दिन सर्वोच्च न्यायालयले आफ्नो एक सुनवाईको आदेश पत्रमा सिक्किमे नेपाली जनसमुदायलाई विदेशी मूलको भनेर उल्लेख गरेको विषयबारे राज्य सरकार अनि केन्द्र सरकारद्वारा जारी पुनः विचार याचिकाको सुनवाई गर्दै आज सर्वोच्च न्यायालयले उक्त वाक्यांशलाई हटाउने निर्णय लिएकोमा राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ऐतिहासिक बताएको छ। यसले सिक्किमे नेपाली समुदायमाथि पटकपटक लागेको अनुप्रवेशकारीको कलंक मेटिएर गएको मुख्यमन्त्रीका राजनीतिक सचिव एवं एसकेएम प्रवक्ता जेकब खालिङले विचार पोखेका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै खालिङले अब सिक्किमे नागरिकमाथि लागिरहने कलंक पूर्ण रूपले हटेर गएको मन्तव्य पोखेका छन्। यस महत कार्यमा उल्लेख्य पहल गर्ने प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह, कानून मन्त्री किरण रिजीजू लगायत मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार प्रकट गरेका छन्। आजको निर्णयले सिक्किमेहरूमाथि कुनै आँच नआउने प्रष्ट पारेको साथै न्यायापालिकाद्वारा पनि स्पष्ट सुरक्षित बनेको उनले विचार पोखे।

नेपाली समुदायमाथि १९९४-मा पनि कलंक लाग्ने कार्य गरिएको स्मरण गर्दै त्यस समय पवन चामलिङको नेतृत्वमा रहेको एसडीएफ पार्टीले सोही मुद्दाको सिँड़ी चढ़ेर सत्ता हासिल गरे पनि २५ वर्षसम्म सो विषय़बारे पुनः विचार याचिका दर्ता नगरेको खालिङले जानकारी गराए। तर एसकेएम पार्टीको नेतृत्वमा रहेको वर्तमान राज्य सरकारले सर्वोच्च न्यायालयको पहिलो सुनवाई आएको २८ दिन नबित्दै पुनः विचार याचिका दर्ता गरेर यसबारे लागेको कलंक मेटाएको प्रवक्ता खालिङले जानकारी गराए। यस मुद्दाको निम्ति आवाज उठाउने सिक्किमका सम्पूर्ण जनसमुदायसँगै दार्जीलिङ, कालेबुङ लगायत देशभरिकै नेपाली जनसमुदायप्रति राज्य सरकारको पक्षबाट उनले आभार प्रकट गरे।

यो मुद्दा राजनीतिक मुद्दा होइन सिक्किमेको मुद्दा रहेको उल्लेख गर्दै प्रवक्ता खालिङले केही तत्त्वहरूले राजनीतिकरण गरेर मुख्यमन्त्री पीएस गोलेको पुतलासम्म जलाएकोमा दुःख प्रकट गरे। तथापि, उनीहरूको असली अनुहारलाई जनताले बुझेकै फलस्वरूप उनीहरूले डाकेको बन्द पूर्ण रूपले असफल भएको दावी गरे। योसँगै कतिपयले रिभ्यू पिटिशनले केही नहुने किटान गर्दै पत्रकार सम्मेलन गरेको सम्झना गर्दै आफूहरूमा न्याय पालिकामाथि पूर्ण विश्वास रहेको स्पष्ट पारे। सोही विश्वासकै फलस्वरूप आज न्यायालयबाट सिक्किमेली जनसमुदायको पक्षमा निर्णय आएको खालिङले विचार पोखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *