वाराणसी: काशी हिन्दू विश्वविद्यालयको कला संकायले आयोजन गरेको दुई दिवसीय संगोष्ठीमा प्रपत्र प्रस्तुत गर्न गएका नरबहादुर भण्डारी सरकारी महाविद्यालय, गान्तोकका सहायक प्राध्यापक डा. टेकबहादुर छेत्रीले तेस्रो दिनको काशी प्रवासमा कला संकायको भारतीय भाषा विभागमा आज ‘अन्डरस्ट्यान्डिङ् लिटरेचार एण्ड रिसर्च मेथोडोलोजी’ विषयमा वार्ता प्रस्तुत गरे।
डा. छेत्रीले साहित्य सर्जनालाई सहृदयतापूर्वक चर्वणा गर्नसक्ने प्रमाता हुनलाई प्रतिभाका साथै व्युत्पत्ति र अभ्यासको पनि आवश्यकता पर्नेबारे प्रकाश पारे। शोधले वैयक्तिक प्रज्ञा निखार्दै समष्टिका लागि अभिनव इच्छा, इक्षण र ऊर्जा सञ्चार र सम्प्रसार गर्नेबारे उल्लेख गर्दै यसलाई निष्ठापूर्वक अङ्गीकार गर्नुपर्ने बताए। वार्तापछि शोधार्थीहरूसित सम्भाषण कार्यक्रम पनि राखिएको थियो। सम्वाद सन्दर्भमा ऐतिहासिक, प्रयोगात्मक र गुणात्मक शोधविघिबारे विमर्शन भयो।
विभागाध्यक्ष प्रो. दिवाकर प्रधानको अध्यक्षतामा भएको वार्ता कार्यक्रममा नेपाली, तमिल, तेलुगू र मराठीका शिक्षक, शोधार्थी र विद्यार्थीहरूको उपस्थिति थियो। डा. जगदीशन टीले डा. छेत्रीलाई अभिनन्दन गरे। अध्यक्षीय भाषणमा प्रो. प्रधानले डा. छेत्रीको प्राज्ञिक क्षमतालाई प्रतिष्ठा गर्दै तरुण प्राध्यापकबाट विद्यार्थीहरूले नवीन चेतना र वर्तमान जीवनबोध अझ राम्ररी ग्रहण गर्नसकिने जनाए।