कोलकाता: आउँदो १५ फरवरीदेखि,विद्यार्थीहरूले विद्यालयहरूमा गएर माध्यमिक परीक्षाको प्रवेश पत्र संकलन गर्नसक्ने छन्। पश्चिम बङ्ग मध्य शिक्षा परिषदले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। प्रवेश पत्र परिमार्जनका लागि २० फरवरी भित्र आवेदन दिनुपर्नेछ। विज्ञप्ति अनुसार २०२३ मा माध्यमिक तहका सबै परीक्षार्थीका लागि प्रवेशपत्र वितरणका लागि परिषद्ले शिविर आयोजना गर्न लागेको हो। आउँदो १३ फरवरी अर्थात सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्यालयका परीक्षार्थीका लागि विद्यालयका प्रधानाध्यापक वा उनीहरूका प्रतिनिधिले यी शिविरबाट प्रवेशपत्र संकलन गर्न सक्नेछन्। १५ फरवरीदेखि विद्यालयबाट लिन सकिनेछ। प्रवेशपत्रमा कुनै त्रुटि भएमा परिमार्जनका लागि काउन्सिलको सम्बन्धित अञ्चल कार्यालयमा गएर लिखित निवेदन दिनुपर्ने परिषद्को तर्फबाट जानकारी गराइएको छ। आवश्यक संशोधन आवेदन २० फरवरीभित्र पेश गर्नुपर्नेछ। यस पछि कुनै पनि आवेदन स्वीकार गरिने छैन। काउन्सिल स्रोतका अनुसार माध्यामिक परीक्षा २३ फरवरीदेखि शुरु भई भएर ४ मार्चसम्म चल्नेछ। माध्यमिकको प्रथम भाषाको परीक्षा २३ फरवरी र दोस्रो भाषाको परीक्षा २४ फरवरीमा हुनेछ। भोलिपल्ट २५ फरवरी भूगोल, २८ फरवरी जीवन विज्ञान विषयको परीक्षा हुनेछ। २, ३ र ४ मार्चमा गणित, भौतिकशास्त्र र ऐच्छिक विषयको परीक्षा हुनेछ। यसैबीच, मुर्शिदाबादको सागरदिघीमा उपचुनावका कारण इतिहास परीक्षाको मिति फेरिएको छ। अब यो परीक्षा २७ फरवरीको सट्टा १ मार्चमा हुनेछ।