उत्तर दिनाजपुर : इस्लामपुर थानाको रामगञ्ज बजारमा गएराति भीषण आगलागी हुँदा धेरै पसल जलेर नष्ट भएका छन् । यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ । फोहोरको थुप्रोबाट आगलागी भएको हुन सक्ने स्थानीयको अनुमान छ । राति अबेर एक्कासी आगलागी भएको स्थानीयले देखेको बताइएको छ ।आगलागी यति भीषण थियो कि केही बेरमै कपडा पसललगायत अन्य धेरै पसलमा फैलिएको थियो । सुरुमा स्थानीयले आगो निभाउने काम सुरु गरेका थिए । पछि इस्लामपुर थानाको रामगञ्ज चौकीका प्रहरी र इस्लामपुर दमकललाई जानकारी दिइएको थियो । तीनवटा दमकल गएर आगो नियन्त्रणमा लिएका थिए । यस घटनामा लाखौं रुपियाँको क्षति भएको बताइएको छ । तर, आगलागी कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।