मंगन। काबी अनि मंगन खण्डद्वारा नवनिर्वाचित जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूलाई लिएर ग्राम पञ्चायत विकास योजनाबारे आयोजित फाउण्डेशन कोर्श एवं तालिम कार्यक्रम ६ फरवरीदेखि शुरु भयो। कार्यक्रममा ग्रामीण विकास विभागीय आयुक्त एवं सचिव डी. आनन्दन उद्घाटन कार्यक्रममा उपस्थित रहेका थिए। ६ फरवरीदेखि शुरु भएको यस कार्यक्रम ११ फरवरीसम्म जारी रहनेछ। यसमा मंगन अनि काबी खण्डका सबै जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूको सहभागिता रहेको छ। जानकारी गराइन्छ, फाउन्डेसन तालिम भनेको स्थानीय स्वशासनको वास्तविक अर्थ बुझाउन अनि ग्रामीण विकासका विभिन्न योजना र कार्यक्रमहरूमा उनीहरूलाई सचेत गराउन नवनिर्वाचित जिल्ला र ग्राम पञ्चायत सदस्यहरूको क्षमता अभिवृद्धि गर्न सञ्चालित एक प्रेरणा प्रशिक्षण हो। तालिममा सिक्किम पञ्चायत ऐन, ग्राम सभा, नेतृत्व विकास अनि झुण्ड निर्माण, कार्यालय प्रबन्धन, बजेट, एकाउण्ट अनि रेकर्ड राख्नु, ग्राम अनि जिल्ला पञ्चायत विकास योजना, आपदा प्रबन्धन, सामाजिक कल्याण योजना, जल जीवन मिशन, ई-गवर्नेन्स, मनरेगा जस्ता प्रमुख विषयहरूमा जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूलाई जानकारी गराइन्छ।