सिलगढी: मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्र बढोत्तरी भएर महकुमा अस्पताल बनिने भएको छ। मिरिक महकुमा अस्पताललाई १०० पलङ्ग भएको सुविधाजनक अस्पताल बनाउने तरखर भइरहेको छ। यसको लागि ३७,२१३,९४९ रूपियाँ आवन्टन गरिएको राज्य सरकारको सरकारी अध्यादेश पाइएको बताइएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेश चौहानले आज यसबारे जानकारी गराउँदै मिरिक अनि वरिपरि क्षेत्रवासीको निम्तिव २०२३ को उपहार स्वरुप अब मिरिक अस्पताललाई बढोत्तरी गरेर १०० वटा पलङ भएको अस्पताल बनाउनको लागि सक्षम भएको बताएका छन्। उक्त पहलको लागि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा, स्वास्थ्य विभागीय भारप्राप्त सभासद अरुण सिग्ची, विभागीय कार्यकारी निर्देशक साम्देन डुक्पाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै सम्पूर्ण मिरिकवासीलाई पनि तिनले हार्दिक बधाई टक्राएका छन्।