गान्तोकः अखिल सिक्किम सरकारी वाहन चालक सङ्गठनले सिक्किम राज्यमा वर्तमानमा भइरहेका अशान्तिका घटनाहरूका कारण साधारण जनतासितै चालकवर्ग पनि समस्यामा परेको बताउँदै शान्ति स्थापना गर्न प्रशासनबाट ठोस पहल होस् भन्ने माग गरेको छ। गत ५ फरवरी राति लुम्से अवस्थित विधायक डा. एमके शर्माको घरमा तोडफोड हुँदा दुईवटा सरकारी वाहन पनि तोडिएको जानकारी गराउँदै सङ्गठनले यसको घोर निन्दा गरेको छ।
सङ्गठनका महासचिव प्रदिप गौतमले प्रेस विज्ञप्तिमा भनेका छन्, चालकहरूका लागि वाहन नै उनीहरूको जीविकोपार्जनको माध्यम हो। बिना कारण पार्किङ गरिएका वाहनमा यसरी तोडफोड हुँदा हामी चालकवर्गको मनमा गहिरो चोट पर्न गएको साथै यसले हाम्रा चालक साथीहरूको गरिखानले माध्यम टुटाइदिएको छ। भविष्यमा यस प्रकारका घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्ने जिम्मेवारी प्रशासनले लिनुपर्छ र सबैको सुरक्षा होस् भन्ने माग गर्दछौं।
सङ्गठनले यो मामिलालाई गम्भीरताका साथ लिएर राज्यका मुख्य सचिवलगायत पुलिस अधीक्षकसंग पनि सरकारी गाडी र सरकारी वहान चालकवर्गको सुरक्षा खातिर पत्राचार गरिसकेको विज्ञप्तिमा उल्लेख छ। अर्कोतिर, सर्वोच्च न्यायालयबाट आएको एउटा फैसलाले सम्पूर्ण सिक्किमेली समाजलाई आघात पुन्याएको छ भन्दै यो अवस्थाबाट सिक्किमे समाजलाई मुक्त गराउने सबै प्रकारका सकारात्मक पहलमा सङ्गठनले पूर्ण रूपले सहयोग पुन्याउने वचन पनि दिएको छ। यसै सिलसिलामा ८ फरवरीका दिन जोइन्ट एक्सन काउन्सिलले डाकेको सिक्किम बन्दलाई चालक सङ्गठनले समर्थन र सहयोग गर्ने विज्ञप्तिमा बताएको छ।