कालचिनीः कर्तव्यरत बन अधिकर्ता अनि बनकर्मीहरूलाई धारिलो हतियारले आक्रमण गरेकोले बन विभागको उजुरीको आधारमा कालचिनी थानाको पुलिसबलले मेन्दाबारी गाउँका एकजना सिभिक भोलिन्टियर्स युवक दुलाल खड़िया उमेर ३५ लाई पक्राउ गरेर आज आईपीसी धारा ३४१/१८६/३५३/४०७/५०६ अन्तर्गत अलिपुरद्वार जिल्ला अदालतमा पठाएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्। प्राप्त जानकारीअनुसार गत शनिबार मेन्दाबारीमा एउटा जंगली हात्तीको आक्रमणमा एकजना गाउँले महिलाको मृत्यु भएको थियो भने लगतै उक्त हात्तीले उक्त सिभिक भोलिन्टियर्सको घर पनि भत्काईदिँदा निरीक्षणमा आईपुगेका बनकर्मीहरू एवम् एकजना अधिकारीलाई धारिलो हतियारले आक्रमण गरेको आरोप बन विभागले लगाएको थियो। यसैको आधारमा बन विभागले कालचिनी थानामा उक्त युवक विरुद्ध अभियोग दर्ता गरेपछि उक्त सिभिक भोलिन्टियर्स युवक दुलाल खड़ियालाई पक्राउ गरेर अदालतमा पठाएको बताईएको छ।
पुलिस सुत्रले बताए अनुसार उक्त युवक सिभिक भोलिन्टियर्स कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टमा कर्तव्यरत रहेता पनि ड्युटीमा नियमित नआउने र प्रायः एक महीनादेखि सस्पेन्डमा रहेको थियो।