कालचिनीः आइतबार मात्र कलकत्ताको कामकस्ट्रीट तृणमूल पार्टी कार्यालयमा तृणमूलका सर्वभारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको हातबाट खदा लगाएको भाजपा निर्वाचित अलिपुरद्वार विधायक सुमन काञ्जीलालले कलकत्तादेखि अलिपुरद्वारसम्मको पत्रकारहरू समक्ष तिनी भाजपा छोड़ी तृणमूलमा सामेल भएको कुरालाई बताउन हिचकिचाएका छन्।
कलकत्ताबाट मंगलबार अलिपुरद्वार आईपुग्दा विधायक सुमन काञ्जीलाललाई तृणमूल समर्थक अनि नेताहरूले भव्य स्वागत जनाएको थियो। अपरान्ह समय तृणमूल अलिपुरद्वार पार्टी कार्यालयमा आएर पत्रकार सम्मेलन गर्दा पनि विधायक सुमन काञ्जीलालले तिनी भाजपा विधायक कि तृणमूल विधायक भएर बस्ने भन्ने बारेमा स्पष्ट नगरी अन्यान्य नैतिक कुराहरूमा नै अडिग भएर बसे। उक्त पत्रकार सम्मेलनमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीकबडाईक लगायत तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामी एवम् अन्यान्य नेतृत्वहरूको साथमा बसेको थियो भने तिनले आफू जनसाधारणले चुनेर पठाएको र जनताको काम गर्न बंगाल विधानसभामा पठाएको जिम्मेदार विधायक रहेकोले विधानसभामा राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी र सांसद तथा महासचिव अभिषेक ब्यानर्जीको आशिर्वाद गरे अनुसार काम गर्ने बताए।
साथमा बसेका तृणमूल नेतृत्वहरूको गलामा पार्टीको खदा रहेको तर विधायक सुमन काञ्जीलालको गलामा तृणमूलको खदा किन छैन भन्ने प्रश्नको जवाफ दिनुको सट्टा तिनले आफू एकजना निर्वाचित जनप्रतिनिधि भएकोले विगत दुई बर्षदेखि आफ्नो क्षेत्रको मानिसहरूको निम्ति केही गर्न असमर्थ हुन परेको बताउँदै संघीय व्यवस्था रहेको प्रणालीभित्र केन्द्र सरकारको मदत अनि निर्वाचित सांसद तथा वर्तमान उपमन्त्रीको सहयोगितामा विकासमूलक काम गर्न सकिन्छ भन्दै आश लाएर बसेको तर कुनै प्रकारको पहल नदेख्दा एवम् उल्टा आफ्नो क्षेत्रमा जाँदा साधरण मानिसहरूले राज्यको भाजपा नेतृत्वहरूको पोलझोसमा राज्यले पाउने केन्द्रिय योजनाहरूलाई अड़काएर राज्य सरकारलाई ठीक पार्ने नीतिमा जनसाधारणले मर्का खप्न परेको कुरा सुनाउँदा अत्यन्त दुख लागेर आएको बताए।
अझै राज्य विभाजनको कुरा उत्तरबंगाल र दक्षीण बंगाल भनेर विभ्रान्तिमूलक कुराहरू अघि ल्याईएको र यहाँको जनताहरूको भावना र आवेगसित खेल्ने जुन कुचेष्टा केन्द्रिय अनि राज्य नेतृत्वहरूले गरीरहेका छन् यस्ता कुराको आफू पहिलाबाटै विरोधमा रहेको र आगो लगाउने कुरामा आफू एकमत रहन नसक्ने बताए। तिनले राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले जहाँ जनसाधारणको सुविधालाई प्राथमिकता दिँदै घर दैलोमा पुग्ने काम गर्दैछन् त्यही भाजपा मन्त्री र सांसद अनि राज्य नेतृत्वहरूले केवल आवेगसित खेल्ने काम गरिरहेकोले आफू निर्वाचित विधायक भएर पनि कुनै काम गर्न असमर्थ हुन परेकोले नै जनसाधारणको काम गर्नलाई राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीको साथ दिनलाई यो पाईला चालेको बताए। भाजपा समर्थकहरूले सुमन काञ्जीलाल एकजना गद्दार भन्दै पुतला दहन गरेको र विधायक पदबाट राजीनामा दिनुपर्ने माग गरेको बारेमा विधायक सुमन काञ्जीलालले कसले पुतला दहन गऱ्यो गरेन त्यो गणतान्त्रिक पद्धतिमा सबैको अधिकार रहेको र विद्यायक पदबाट राजीनामा गर्नु ठूलो कुरा नरहेको र यसको उदाहरण नन्दीग्रामबाट पाउन सक्ने बताउँदै विधायकको हिसाबले आफ्नो कर्तव्य गर्ने बताए। यद्यपि विधायक सुमन काञ्जीलालले भाजपा छोड़ेर तृणमूलमा सामेल भएको कुरालाई भने पटक्कै मुख खोलेर भन्न मानेनन। विधानसभामा तिनी सत्तापक्षमा बस्ने कि विरोधी पक्षमा भन्ने प्रश्नको जवाफमा पनि विधायक सुमन काञ्जीलालले यो कुरा तय विधानसभाको स्पीकरले गर्ने बताएका छन्। आखिर किन स्पष्ट रुपमा विधायक सुमन काञ्जीलालले तिनी भाजपा छोड़ी तृणमूलमा सामेल भएको कुरालाई मिडिया समक्ष बताउन मान्दैनन भन्ने कुरामा राजनैतिक पर्यवेक्षकहरूले अहिले विधायकको केन्द्रिय अंगरक्षकहरू तिनको साथमा रहेको र कतिपय सम्वैधानिक कारणले विधायक सुमन काञ्जीलालले आफूलाई तृणमूलमा सामेल भएको बताउन नसकेको अनुमान लगाएका छन्।