सिलगढी: कालेबुङमा एकलव्य मोडेल रेजिडेन्शियल स्कूल (ईएमआरएस) को निर्माण-कार्य नगरिएको मामिला बारेमा आज सांसद राजु बिष्टले लोकसभामा कुरा उठाएका छन्l स्कूलको निर्माण पूरा गर्ने दिशामा तत्काल हस्तक्षेप गर्न आदिवासी मामिला मन्त्रालयसँग माग गरेको उनले प्रेस विज्ञतिमा बताएका छन्। विज्ञप्तिमा उनले यसरी भनेका छन्, ‘मैले संसदलाई जानकारी गराएँ, हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स मूलतया पहाड़ी आदिवासी क्षेत्र हो। हामीले कठिन भौगोलिक बनोटको पीड़ा त भोग्छौँ नै, त्यसैमाथि राज्य सरकारको भेदभावको पनि सामना गर्दछौँl मैले सदनलाई जानकारी गराउँदै भनेँ हाम्रो क्षेत्र पिछड़िएको क्षेत्र हो, अनि यहाँ स्वास्थ्य-सेवा, पिउने पानी, ग्रामीण पूर्वाधार, रोजगारका अवसरहरू अनि शिक्षा जस्ता मूलभूत सुविधाहरूको अभाव छ। यहाँ औसत पारिवारिक आमदानी रु.७५०० प्रति महिनाभन्दा कम्ती रहेको हुँदा समग्र आर्थिक परिदृश्य अत्यन्तै निराशापूर्ण अवस्थामा छ। हाम्रा क्षेत्रका अभिभावकहरूले आफ्ना सन्तानका लागि उत्कृष्ट शिक्षाको चाहना राखेर पनि अधिकांशले आफ्ना नानीहरूलाई महंगा निजी स्कूलहरूमा पठाउन सक्दैनन्, अनि सरकारी स्कूलहरू चाहिँ राज्य सरकारको बेवास्ता र हेलचेक्र्याइँले गर्दा भत्किरहेका स्कूल भवन, शिक्षकहरूको अभाव, तथा अन्य बुनियादी सुविधाहरूको कमीले ग्रस्त छन्l’
क्षेत्रले भोग्न परेका समस्याहरूको समाधानका निम्ति केन्द्र सरकारले कड़ा परिश्रम गरिरहेको उनले बताएका छन्। ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हाम्रो सरकारले कालेबुङमा एकलव्य मोडेल रेजिडेन्शियल स्कूल (ईएमआरएस) को स्थापनाका लागि मन्जुरी दिएको छ अनि यसको निर्माण हेतु रु.१६ करोड़ आवन्टित गरेको छ’, उनले विज्ञप्तिमा भनेका छन्l स्कूल निर्माणका लागि यस आवन्टित कोषबाट पहिलो किस्ताको रूपमा रु. ८ करोड़ पश्चिम बङ्गाल सरकारलाई वर्ष २०२०-२१ मा नै जारी गरिसकिएको बारेमा सदनलाई आफूले जानकारी गराएको सांसद राजु बिष्टले बताएका छन्। उनले भने, ‘तर, आजसम्म यस सम्बन्धमा हामीले कुनै प्रगति देख्न पाएका छैनौँ। पश्चिम बङ्गाल सरकारको भेदभावपूर्ण नीतिले गर्दा हाम्रो क्षेत्रका विद्यार्थीहरूको विकासका लागि मन्जुरी प्रदान गरिएको यस स्कूलले यथार्थ रूप लिनसकेको छैनl’ विज्ञप्तिमा उनले अझ यसरी बताएका छन्, ‘मैले केन्द्रीय आदिवासी मामिला मन्त्रालयलाई यसमा हस्तक्षेप गरेर एकलव्य स्कूलको निर्माण चाँड़ोभन्दा चाँड़ो गराउन सुनिश्चित गर्न विनम्र अनुरोध गरेको छु। यस विद्यालयको स्थापनामा प्रत्येक वर्षको ढिलाइले गर्द हाम्रा विद्यार्थीहरूको उज्ज्वल भविष्यलाई वर्षौं पछि धकेल्दैछl’









