गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री लोकनाथ शर्माले आज बिहानदेखि आफ्नो समष्टिको घर दैलो अभियान सेन्ट्रल गेजिङबाट आरम्भ गरे। सम्माननीय पार्टी अध्यक्ष एवं मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको निर्देशनमा महिनाव्यापी घर दैलो अभियान गरिने पार्टीले निर्णय लिएको थियो भने अन्य निर्वाचन क्षेत्रहरू सँगै मन्त्री शर्माले पनि आफ्नो समष्टिमा आइतबारदेखि यो अभियानको शुभारम्भ गरेका हुन्। आज दोस्रो दिनको भ्रमणमा मन्त्री शर्माले सेन्ट्रल गेजिङमा जल निकास प्रणाली अर्थात नाली व्यवस्थापनको निरीक्षण गरे। जहाँ उनले नालीको मर्मतसम्भार र यसलाई सही व्यवस्थापन गर्ने विधिबारे सल्लाह गरे। उनले नालीको उचित व्यवस्था गर्न स्थानीयहरूले पनि सहयोग गरिदिने आग्रह गर्दै यहाँ उत्पन्न समस्याको शीघ्र समाधान गरिने आश्वासन दिए। यस अवधि मन्त्री शर्माको साथमा पार्टीका समष्टि तथा ब्लक स्तरीय समिति लगायत अन्यले पनि भाग लिएका थिए।









