गान्तोक: सिक्किममा भइरहेको अशान्ति र तोड़फोड़का घटनाको जिम्मेवार मुख्यमन्त्री पीएस गोले स्वयं रहेको सिक्किम प्रदेश कांग्रेस कमिटीले ठहर गरेको छ। चार फरवरीमा एसकेएम स्थापना दिवसको दिन मुख्यमन्त्रीले दिएको वक्तव्यपछि नै राज्यमा अशान्ति बढेर गएको छ भन्दै यो स्थिति रहिरहे पार्टीले राष्ट्रपति शासनको माग गर्ने पनि बताएको छ।
सोमवार गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश कांग्रेस कमिटीका चेयरमेन गोपाल छेत्रीले यो कुरा भनेका हुन्। अर्कोतर्फ, आगामी ९ फरवरीमा डाकिएको सिक्किम विधानसभा सत्रमा विपक्षी विधायकको सुरक्षा हुन्छ के भन्ने शंका व्यक्त गर्दै पुलिस महानिदेशकले विधायकहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ भन्ने माग उठाएका छन्। सिक्किम विधानसभाको ९ फरवरीमा हुने विशेष सत्रमा ऐतिहासिक दस्तावेजका आधारमा सिक्किमेली नागरिकको पक्षमा बहस हुनुपर्ने र विधानसभा सत्रलाई सरकारले लाइभ टोलिकास्ट गर्नुपर्ने पनि गोपाल छेत्रीले माग गरेका छन्। पूर्व मन्त्री डाक्टर एमके शर्माको निवास स्थान र अन्य विभिन्न स्थानमा भएका तोडफोडका घटनाको विरोध गर्दै सिक्किम सरकारले कसैलाई पनि सुरक्षा दिन नसकेकोले राज्यमा सरकार नभएको स्थिति सिर्जना भएको बताए। उनले राजनैतिक अधिकार अभ्यास गर्ने अधिकारबाट सरकारले कसैलाई पनि वञ्चित गर्न पाउँदैन भनी बताए।सर्वोच्च न्यायालको फैसलापछि सिक्किमले सडक, संसद र अदालतमा सबै पक्षलाई समेटेर क्षमता अनुसार काम गर्नुपर्ने अवस्थामा तोडफोड र झगडा हुनुले सिक्किमे समाजमा एकताको कमि देखिएको उनको भनाइ छ। सिक्किमको ‘दुःखमा राज्य बाहिरका मानिसहरूको सहयोग भइरहँदा सिक्किमका राजनैतिक दलहरू भने सरकार र पार्टी बचाउने लडाईमा छन् बन्दै सिक्किममा भइरहेका घटनालाई प्रदेश कांग्रेस कमिटीको पक्षबाट खण्डन पनि गरे।











