क्याप्टेन जीबी तामाङको निधनमा श्रद्धाञ्जली सभा

00-1-A-1

बाग्राकोट: वरिष्ठ समाजसेवी क्याप्टेन जीबी तामाङको निधनमा आज एक श्रद्धाञ्जली सभाको आयोजन गरियो। एजीएपीई पास्टर्स युनाइटेड फेलोसिफ, माल ब्लकद्वारा उनको निजी निवासस्थित चर्च परिसरमा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न ख्रिष्टिय मण्डलीका पास्टर एवं अनुयायीगणसँगै स्थानीय बुद्धिजीवी, साहित्यकार, समाजसेवी, स्कूलका शिक्षकगण, विभिन्न सङ्गठनका प्रतिनिधि तथा स्थानीय गण्यमान्य व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। मण्डलीमा ‘पास्टर बुवा’-को नामले परिचित दिवङ्गत जीबी तामाङ उनका समाजसेवा, सादगी र अनुशासित जीवन, माउन्ट ओलिङ एकाडेमी स्कूलकका सह-संस्थापक, ड्रग्सविरोधी अभियानका अभियन्ता तथा समाजका हरेक गतिविधिमा आफ्ना संलग्नता र सहयोगका कारण स्थानीय मानिसहरूका निम्ति एक आदर्श व्यक्तिका रूपमा परिचित थिए। हृदयघातका कारण सिलगढ़ीको एउटा नर्सिङ होममा उपचाराधीन तामाङले ३ फरवरीको बिहान अन्तिम श्वास लिएका थिए। 

श्रद्धाञ्जली सभामा ट्रियम्फेन्ट चर्च मण्डलीका प्रतिनिधि तथा पास्टरहरूले उनका विभिन्न पक्षहरूका उद्घाटन गर्नुका साथै समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले उनका बहुआयामिक पक्ष, आदर्श व्यक्तित्वका रूपमा उनका स्वभाव र उनीबाट जीवनमा लिनसकिने प्रेरणाहरूका बारेमा प्रकाश पारेका थिए। पास्टर सुशील माझीले उनीबाट प्राप्त आन्तरिक प्रेरणाले आफ्नो जीवनलाई पनि मार्गदर्शन गरेको बताए भने इण्डियन एक्स सर्भिसमेन लीग बाग्राकोट सब-युनिटका अध्यक्ष क्याप्टेन खगेन्द्र शर्माले उनको सहयोगी स्वभाव र जीवनशैली सबैका लागि आदर्श भएको बताए। माउन्ट ओलिभ एकाडेमीका वरिष्ठ शिक्षक अजीत खड्काले युवा पुस्तामा ड्रग्सको बढ्दो कुलतलाई लिएर उनी सधैँ चिन्तित रहने गरेको अनि यसबारे विभिन्न सचेतनामूलक कार्यहरू गरेर युवाहरूमा जागरूकता फैलाउँदै आएका प्रसङ्गहरू उल्लेख गरे। स्थानीय क्षेत्रमा ‘वाङ्दी सर’-का रूपमा परिचित उनलाई खड्काले ‘अ म्यान अफ् डिसिप्लिन’-को संज्ञा दिए। यसैगरी, युवा निबन्धकार तथा पत्रकार अजय खड्काले वाङ्दी सरले पहाड़भन्दा गह्रुङ्गो मृत्युवरण गरेको जिकिर गरे। दिवङ्गत तामाङको प्रेमको प्रभाव मण्डलीका सदस्यहरूमा मात्र सीमित नरहेर बाग्राकोटका आम जनगणमा समेत विस्तारित भएको उनले बताए। उनका सत्कार्य, लेखन, गतिविधि, चिन्तन अनि मानवसेवाका विभिन्न पक्षहरूलाई समेटेर एउटा स्मृति ग्रन्थ प्रकाशन गर्नुपर्ने आवश्यकतामाथि पनि खड्काले जोड़ दिए। यसैगरी, उनका भानिज तथा भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष, ट्रियम्फेन्ट चर्चका अध्यक्ष (पास्टर) प्रा. मुनिष तामाङले आफ्ना मामाबाट धेरै कुरा सिक्न पाएको उल्लेख गर्दै उनलाई ‘विनम्रताका प्रतीक’ बताए। उनी एक आध्यात्मिक व्यक्ति भए तापनि त्यो मानवसेमामै समर्पित भएको अनि दैनिक जीवन र नियमित एवं नित्य कार्यहरूप्रतिको इमानदारिताबाट उनको जीवन सुन्दर बनेको प्रा. तामाङले बताए। उनको जीवनलाई अनुकरण गरेर हिँड़्न सकियो भने जीवनमा सफलता ग्यारेन्टिड हो, उनले भने। ट्रियम्फेन्ट चर्चका प्रधान पास्टर एवं दिवङ्गत तामाङका भाइ तिमोथी योञ्जनले दुःखको घड़ीमा मण्डली परिवार एवं आफ्न्त, इष्टमित्र, शुभचिन्तक र बाग्राकोटमा विशिष्ट व्यक्तिहरू साथमा उभिएको र श्रद्धाञ्जलीमा सहभागी भई उनका आदर्श व्यक्तित्वको सराहना गरेकोमा सबैप्रति आभार प्रकट गरे। 

श्रद्धाञ्जली सभालाई मनिमा नर्बुले खुबै सुन्दर भाव र सम्मानका साथ सञ्चालन गरेकी थिइन्। सभामा परिवारका युवा सदस्यहरूले बाइबलका विभिन्न अंशहरूको पठन गरे भने मण्डलीका सदस्यहरूले भजन पनि प्रस्तुत गरे। उनका विभिन्न आयामहरूलाई समेटेर तयार पारिएको एउटा भिडियो पनि देखाइएको थियो। श्रद्धाञ्जली सभामा सहभागी हुन दार्जीलिङबाट राजनीतिज्ञ अजय एडवर्ड पनि बाग्राकोट आइपुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement