सिलगढी: आज रोगी कल्याण समितिको एउटा बैठक उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा सम्पन्न भयो। सो बैठकमा सिलगढीका मेयर तथा रोगी कल्याण समितिका चेयरम्यान गौतम देव, मतिगढा नक्सलबारीका विधायक आनन्दमय बर्मन, अस्पतालका सुपर सञ्जय मल्लिक, अध्यक्ष इन्द्रजीत साहा, डीन सन्दीप सेनगुप्ता लगायत विभागीय प्रधानहरू उपस्थित थिए। आज बसिएको यस बैठकमा विविध विषयमा चर्चा परिचर्चा गर्नको साथै अस्पतालतमा चिकित्साधीन रोगीहरूको सुरक्षाको विषयमा जोड दिइयो। अस्पताल सूत्रले दिएको जानकारी अनुसार प्रत्येक दिन अस्पतालमा धेरैजना रोगीहरू उपचारको लागि आउने गर्दछन्। अस्पताल परिसरमा समय-समयमा चोरी, छिनताई जस्तो घटनाहरू घट्ने गर्दछ। यसको साथै अस्पताल परिसरमा अवैध रूपमा दोकानहरू खोलेकोले गर्दा कुनै अप्रिय घटना हुने खतरा रहेको छ। यसैले अस्पतालमा पुलिसकर्मीहरूको संख्यामा वृद्धि, सुरक्षाकर्मीहरूको नियुक्ति तथा सीसीटीभी क्यामारा जडान गरिने पहल गरे तापनि सहयोग नगरेको अभियोग उठ्दै आइरहेको छ।









