फुलबारी: एम्बुलेन्स र लरी आपस्तमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर रूपमा घाइते भएका छन्। यो घटना गत राती सिलगढी संलग्न फुलबारी आमाईदिघी इलाकामा घटेको हो। यस दुर्घटनामा परेर मर्नेहरूमा बापन घोष, प्रशान्त राय र रितु साहा सामेल छन्। जानकारी अनुसार केही मानिसहरू एम्बुलेन्समा मयनागढीबाट उत्तरबंग मेडिकल कलेज तथा अस्पतालतर्फ गइरहेको समय फुलबारी आमाईदिघी इलाकामा एम्बुलेन्स र ईंटा बोकेको लरी आपस्तमा ठोक्किँदा एम्बुलेन्स चालक सहित तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। उक्त दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरेर नजिकैको निजी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहनलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।








