५ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (मिलनमोड़)-ले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार सुकना हाई स्कूल मैदानमा भएको ग्रुप डी-को म्याचमा क्याप्टन न्यौपाने एफए-ले युनाइटेड रंगबुल एफसी-लाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सीएनएफए-बाट सुजल साईबोले ह्याट्रिक गरे। उनले म्याचको २१औं, ३२औं र ५३औं मिनटमा गोल गरे। यसरी लगातार तीन गोल खाएपछि पनि युनाइटेड रंगबुल एफसी-ले हरेस खाएन अनि असाधारण पुनरागमन गर्दै तीनैवटा गोल सुलायो। युनाइटेड रंगबुल एफसी-बाट छितेन तामाङले ६९औं र ७०औं मिनटमा लगातार दुई गोल गरे। त्यसपछि अजय तामाङले स्टपेज टाइमको खेलमा गोल गरी स्कोर ३-३-को बराबरीमा पुऱ्याए। विजेता टीमका सुजल साईबोलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने ग्रुप ए-को म्याचमा कालेबुङ पुलिस र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।