कालचिनीः डुवर्स नेपाली साहित्य विकास समितिको आयोजनामा आईताबार कालचिनी खण्डको हेमिल्टनगञ्ज स्थित बून इङ्गलिस स्कूलको सभाकक्षमा पुरस्कार अलङ्करण समारोह विधिवत कार्यक्रमबीच सम्पन्न भयो। असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भुजेलको प्रमुख आतिथ्य अनि डुनेसाविसका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको सभाध्याक्षतामा सम्पन्न समारोहमा साहित्यमा नवौँ चन्द्रबीर प्रधान स्मृति पुरस्कार कालचिनी खण्डको हेमिल्टनगञ्ज फरवार्डवगर निवासी आसबहादुर लिम्बुलाई शिक्षामा पाँचौँ किताबसिंह राई स्मृति पुरस्कार नगरकट्टा निवासी बासु छेत्रीलाई, सङ्गीतमा आठौँ बीबी दर्नाल स्मृति पुरस्कार चमर्ची निवासी अर्जुन कागतेलाई र समाजसेवामा आठौँ हैकमसिंह राई स्मृति पुरस्कार बाग्राकोट निवासी जेबी छेत्रीलाई प्रदान क्रमस मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरिएको थियो। समारोहको प्रथम चरणमा प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरूको करकमलबाट दीप प्रज्वलन मार्फत कार्यक्रम शुरु गरिएको थियो भने कार्यक्रमको सञ्चालन अबीर खालिङ र दुर्गा राईले गरेको थियो।
पुरस्कार अलङ्करण समारोह अघि वरिष्ठ समालोचक तथा साहित्यकार मननारायण प्रधानकृत साहित्यलोचनको विमोचन गरिएको थियो भने वाईएलटीपी भाटपाड़ाका कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेको थियो। कार्यक्रममा डुवर्सको बाग्राकोट, सामसिङ, मालबजार, चमर्ची, बानरहाट, नगरकट्टा, लुकसान, बीरपाड़ा, मदारीहाट, दलसिंहपाड़ा र तोर्षा चियाबारीबाट विभिन्न प्रतिनिधि सदस्यहरूको उपस्थिति रहेको थियो। यसै समारोहबीच सह-आयोजक सृजनशील समूहको पक्षबाट बून इङ्गलिस स्कूलमा नेपाली विषय यस सत्रहदेखि शुरु गरीएको खुसीमा स्कूलका चेयरम्यान पवन कुमार सिंह झाँ लाई स्मृति चिन्ह प्रदान गर्दै सम्मानित गरीएको थियो। कार्यक्रममा पुरस्कार प्रापक चारजना विभूतिहरूलाई मेचपाड़ा लिम्बू सांस्कृतिक टोलीको च्याब्रुङ कलाकारहरूले च्याब्रुङ बजाएर मञ्चमा स्वागत जनाएको थियो। कार्यक्रममा अन्यान्य अतिथिहरूमा साहित्यकार गोपालसिंह विश्व, पवनकुमार सिंह झाँ, ममता घिसिङ, आदिवासी कवि रामकुमार राणा, समाजसेवी शरण लामा, डुनेसाविसका मूलसचिव रबिन खवास, दुर्गा चामलिङ, समालोचक रुपेश शर्मा समितिका कोषाध्याक्ष राजेश प्रधान एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
समारोहको मुख्य अतिथि कृष्ण भुजेलले डुवर्स र असमलाई सीमाले जोड़नुको साथै असम र डुवर्सको साहित्यिक सम्बन्ध पनि सुमधुर बन्दै गईरहेको र असमले गर्न नसकेको काम डुवर्सको साहित्यिक बन्धुहरूले गरेकोमा डुवर्सप्रति आभार रहेको बताए।
कार्यक्रमको अन्तमा डुनेसाविस अध्यक्ष कृष्णबहादुर श्रेष्ठले सबैलाई शुभकामना र धन्यवाद ज्ञापन गरेको थियो।