शब्द समय सालबारीद्वारा साहित्यकार इन्द्रबहादुर राईको ९६औँ जन्मजयन्ती पालन

IMG-20230205-WA0113.jpg

खरसाङ: साहित्यकार इन्द्रबहादुर राईको ९६औं जन्म दिवसको अवसरमा शब्द समय सालबारीले एक कार्यक्रम आयोजना गरी शिखर साहित्यकार इन्द्रबहादुर राईको जन्म जयन्ती पालन गरेको छ। कार्यक्रममा साहित्य महारथी इबराको व्यक्तित्व र कृतित्वहरूमाथि चर्चा गर्दै उनको कृति वाचन अनि उनीसितका संस्मरणहरू प्रस्तुत गरियो। सालबारीको सविता गोम्देन साहित्य कक्षमा सम्पन्न यो कार्यक्रमलाई शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए। प्रथममा महान साहित्यकार इन्द्रबहादुर राईको तस्वीरमा समारोह अध्यक्ष साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट धूपदीप प्रज्ज्वलन गरिएपछि उपस्थित सबै साहित्यकार-सर्जक अनि साहित्यानुरागीहरूले पुष्प अनि खदार्पण गरी इबराप्रति श्रद्धाञ्जली चढ़ाएका थिए। यस अवसरमा कार्यक्रम अध्यक्ष साहित्यकार नरबहादुर दाहालले आफ्ना संस्मरणहरू राखे। उनले भने, इन्द्रबहादुर राई उमेरमा मभन्दा जेठो तर लेखनमा हामी समकालीन थियौं। इन्द्रबहादुर राईले नै मलाई डम्बरसिंह गुरूङको बायोग्राफी लेख्ने इच्छा बिजारोपण गरिदिनुभएको थियो। जब म गोर्खाको सम्पादक बनें मैले रिजेक्ट गरिएका रचनाहरूको फाइलबाट निकालेर इन्द्रबहादुर राईको रचना प्रकाशित गरेको थिएँ। इन्द्रबहादुर राईबाट हामीले अझैं धेरै कुराहरू पाउन सक्ने थियौं। जे जति पायौं आहिले भन्दैछौं र गर्दैछौं।’ इन्द्रबहादुर राई सालबारी आउनुहुँदा उहाँसितको भेटघाटका कुराहरू दाहालले बताउँदै “सालबारीले इन्द्रबहादुर राईलाई बिर्सनु हुँदैन किनकि उहाँको सालबारीसित गहिरो सम्बन्ध रहेको थियो।”
वरिष्ठ कवि भविलाल लामिछाने साहित्यकार इन्द्रबहादुर राईका सम्झनाहरू बताए। वरिष्ठ कवि मोहन ठकुरीले आइबी राईलाई सम्झना गर्दै ‘आरोहण’ पत्रिकाको छैटौं अङ्कमा इन्द्रबहादुर राई महोदयको रचना छापेका अऩि उनलाई आरोहणको निदेशकको रूपमा राखिएका सम्झना साझा गरे। वरिष्ठ कवि- अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले आजको यो भेलामा साहित्यकार इन्द्रबहादुर राईका यतिविध्न अनुयायीहरू देखेर खुशी लागेको बताए। उनले भने नेपाली उपन्यासका आधारहरू बनाउने पहिले व्यक्ति नै इन्द्रबहादुर राई हुन्। नेपालमा कृष्णचन्द्रसिंह प्रधानले नेपाली उपन्यास र उपन्यासकार लेखे, उनले पनि भने हाम्रो आधार राखिदिने व्यक्ति इन्द्रबहादुर राई नै हु्न्। यस अवसरमा प्रख्यात साहित्यकार इन्द्रबहादुर राईकी सुपुत्री वेदिका राईले आफ्ना स्वप्नामधन्य पिताबारे कुराहरू राखिन्। उनी भनिन् – ‘मलाई मेरा बाबा इन्द्रबहादुर राईले लेखेका विपना कतिपयका कथाहरू एकदमै मनपर्छ र घरिघरि पढ्ने गर्छु। बाबाले यति राम्रा राम्रा कुराहरू कसरी लेख्नुभयो भन्ने सोच्छु। उहाँ साना साना कुराहरूको एकदमै राम्रो अवजर्भर हुनुहुन्थ्यो। बाबा आफै खुशीसँग बाँच्ने मानिस हुनुहुन्थ्यो अनि आफ्ना खुशीहरू सबैसित बाँट्ने गर्नुहुन्थ्यो। बाबासितका धेरै रमाइला संस्मरणहरू छन्।”

इन्द्रबहादुर राईका जुवाईँ कथाकार मणिकुमार प्रधानले आफू कलकत्तामा कार्यरत हुँदा भएको भेटघाटका कुराहरू साझा गरे। उनलाई इन्द्रबहादुर राईले लेखेका केही पत्रहरूबाट केही अङ्शहरू पठन गरेर सुनाए। युग्मककार कालूसिंह रनपहेंलीले महान साहित्यकार इन्द्रबहादुर राईको प्रख्यात कथा ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’-का केही अङ्शहरू पठन गरे भने आफ्नो स्वरचित कवितासितै केही युग्मकहरू वाचन गरेर सुनाए। पत्रकार शैलेन्द्र समदर्शीद्वारा साहित्यकार इन्द्रबहादुर राईका अनेक प्रसङ्गहरू उद्धृत गर्दै सञ्चालन गरिएको कार्यक्रम सफल रहेको बताइएको छ। अन्त्यमा समदर्शीद्वारा नै सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा अग्रज साहित्यकार डी.एस. बम्जन, कवि अजय थापा, कवि अनुवादक खड़कराज गिरी, कथाकार-अनुवादक जीतबहादुर सुनार, रम्भास कवि लीलबहादुर सुनार, कवि-समाजसेविका योगिता राई, पत्रकार-आख्यानकार एवं सञ्चारकर्मी बबिता मादेन, कवि-पत्रकार लक्ष्मण दाहाल, कवि-पत्रकार सुरज रोसुरी, कवि हेमन्त काँफ्ले, अ.प्रा. डीएसपी तारा कुमार राई, अ.प्रा. डीएसपी एवं कवि निर्मल सिन्चुरी, वरिष्ठ समाजसेवी एवं शब्द समयका सक्रीय सदस्य पूर्ण मंगर, साहित्यकार आइ.एन. शर्मा, समाजसेवी अनुप छेत्री, अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement