सिलगढी: महाबीरस्थान शनि मन्दिर परिसर इलाकालाई हकरहरूले दखल गरेको विषयलाई लिएर इलाकावासीहरूले क्षोभ प्रकट गरे। महावीरस्थान नजिक सर्वहारा कोलनी इलाकाको मुख्य सड़कमा हाल केही हकरहरूले दखल गरेकोले गर्दा इलाकावासीहरूलाई आऊ-जाऊ गर्नमा निक्कै असुविधा हुने गर्दछ। यसको साथै यस सड़क भएर एम्बुलेन्स र दमकलको वाहनहरू प्रवेश गर्न सक्दैन। यसैबीच २८ नम्बर वार्डको सर्वहारा कोलनीमा अग्निकाण्डको ठुलो घटना घटेको थियो। त्यस समय दमकलको वाहन इलाकामा प्रवेश गर्न नसकेपछि इलाकावासीहरू जागरूक भएका छन्। यसैले गर्दा तिनीहरूले पार्षद्समक्ष सड़क अतिक्रमण मुक्त गर्ने माग गरे।यो अभियोगपछि पार्षदले प्रशासनको सहयोगमा सड़क अतिक्रमण हटाइदिए तापनि हकरहरूले फेरि सड़क दखल गरेर व्यवसाय चलाइरहेको छ। यसपछि सर्वहारा कोलनीका मानिसहरूले क्षोभ प्रकट गरे। घटनाको खबर पाएर पार्षद सन्प्रीता दास घटनास्थलमा पुगेर चाँडै सड़क अतिक्रमण हटाउने आश्वासन दिइन्। इलाकावासीहरूको भनाइ अनुसार यस प्रकारको अव्यवस्थालाई कुनै प्रकार स्वीकार गरिने छैन। यदि चाँडै समस्याको समाधान नभएको खण्डमा तिनीहरू स्वयम् यसको विरोधमा सड़कमा ओर्लिनेछन्। यस सम्बन्धमा पार्षदले भनिन्, इलाकावासीहरूको अभियोगको आधारमा प्रशासनको सहयोगमा उक्त इलाकाको सड़कलाई दखलमुक्त गराइएको थियो तर फेरि हकरहरूले सड़क दखल गरेर व्यवसाय चलाउन शुरू गरेको छ। चाँडै नै प्रशासनको सहयोगमा सड़क अतिक्रमण हटाइने तिनले आश्वासन दिइन्।