नयाँ दिल्ली: संयुक्त राष्ट्र सुरक्षा परिषदले पाँच नयाँ अस्थायी सदस्य पाएको छ। अस्थायी सदस्यताको निम्ति भएको चुनावमा इक्वाडोर, जापान, माल्टा, मोजाम्बिक र स्विट्जरल्याण्डलाई सफलता हासिल भएको छ। यी देशहरू यस वर्ष दिसम्बरमा भारतसहित पाँच देशको कार्यकाल समाप्त भएपछि जनवरीदेखि संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्य बन्नेछन्। संयुक्त राष्ट्र महासभामा बिहीबार मतदानको माध्यमले आउँदो वर्ष जनवरी २०२३ मा काम सम्हाल्नका लागि पाँच नयाँ अस्थायी सदस्यहरूको चुनाव भयो। संयुक्त राष्ट्र सुरक्षा परिषदमा १५ सदस्य हुन्छन्, यसमध्ये चीन, फ्रान्स, रूस, ब्रिटेन र अमेरिका स्थायी सदस्य हुन्। बाँकी १० सदस्यमध्ये हरेक वर्ष २ वर्ष कार्यकालको निम्ति पाँच सदस्यको चुनाव हुन्छ। संयुक्त राष्ट्र महासभामा १९३ सदस्य देश छन्। यी देशहरूले हरेक वर्ष दुई वर्षीय कार्यकालको निम्ति पाँच नयाँ सदस्यको चुनाव गर्छन्। सुरक्षा परिषदमा पुग्नका लागि हरेक देशलाई दुई तिहाई सदस्य देश अर्थात १२८ देशको समर्थनको खाँचो पर्छ। अस्थायी सदस्यहरूको चुनावमा भौगोलिक प्रतिनिधित्वलाई पनि ध्यानमा राखिन्छ। यस वर्ष तीन क्षेत्रीय समूहहरूबाट पाँच सीटको निम्ति चुनाव भयो। अफ्रीकी र एशिया-प्रशान्त देशहरूको निम्ति दुई, लेटिन अमेरिकी र केरीबियाई देशहरूको निम्ति एक र पश्चिमी यूरोप र अन्य देशहरूको निम्ति दुई सीट निर्धारित गरिएको थियो। यस वर्षको चुनावमा मोजाम्बिकलाई सर्वाधिक १९२ सदस्य देशको समर्थन हासिल भयो। य़स बाहेक इक्वाडोरलाई १९०, स्विट्जरल्याण्डलाई १८७, माल्टालाई १८५ र जापानलाई १८४ देशको समर्थन हासिल भयो। संयुक्त राष्ट्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले नतिजाहरूको घोषणा गरे। नयाँ अस्थायी सदस्यहरूले भारत, आयरल्याण्ड, केन्या, मेक्सिको र नोर्वेको स्थान लिनेछन्। यी पाँच देशहरूको कार्यकाल दिसम्बर २०२२ मा समाप्त भइरहेछ।