गान्तोक: सत्तारूढ़ एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले विपक्षी एसडीएफ पार्टीलाई आगामी ४ मार्चको दिन स्थापना दिवस मनाउन दिनु नहुने बताएका छन्। एसकेएम पार्टीको आज ११औं स्थापना दिवसलाई केन्द्र गरेर एसडीएफले दुई दिने बन्द घोषणा गरेको आरोप लगाउँदै उनले यस्तो आह्वान गरेका छन्।उनले एसडीएफको चरित्र यस्तै छ भन्दै पहिला आफुहरू विपक्षमा हुँदा पनि एसकेएम पार्टीको स्थापना दिवस बिथोल्न गाउँमा स्पेशियल ग्राम सभा लगाउने गर्थ्यो भनी बताए। उनले एसडीएफ पार्टीको मानसिकता अझै पनि परिवर्तन नभएको बताए।
उनले एसकेएम अध्यक्ष पीएस गोले समक्ष बिन्ती राख्दै अब एसडीएफको यस्तो धम्कीलाई सहन गर्नु नहुने बताए। एसडीएफले एसकेएमको स्थापना दिवसलाई केन्द्र गरेर डाकेको दुई दिने बन्द घोषणाले एसकेएम कार्यकर्ताहरूको मनमा चोट लागेको छ भन्दै उनले आगामी ४ मार्च एसडीएफ पार्टीको स्थापना दिवस पनि मनाउन दिनु नहुने बताए। एसकेएमले अहिलेसम्म एसडीएफको स्थापना दिवसमा वाधा पुऱ्याउने काम नगरेको बताउँदै अब क्रान्तिकारीहरूले एसडीएफलाई जरैबाट उखिलेर फ्याक्नु पर्ने समय आएको बताए। उनले एसडीएफ पार्टीको अस्तित्व रहुन्जेलसम्म सिक्किमे जनताले साँचो सुशासन देख्न नपाउने स्पष्ट भएको बताए।









